काठमाडौं। गत आर्थिक वर्ष मदिरा उद्योगमा बैंकको ऋण लगानी ८.३ प्रतिशत बढेको छ। आर्थिक वर्ष २०७९/८० मा मदिरा उद्योगीले २ अर्ब ८ करोड रुपैयाँबराबर ऋण थपेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष बैंकहरूले मदिरा उद्योगमा २ अर्ब ३३ करोड रुपैयाँ ऋण थपेका थिए। मदिरा उद्योगीले २०७९/८० सम्म कूल २७ अर्ब १८ करोड ३२ लाख रुपैयाँ ऋण लिएका छन्।
त्यसैगरी उद्योगीले २०७८/७९ सम्म २५ अर्ब १० करोड ६ लाख र २०७७/७८ सम्म २२ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ ऋण लिएका थिए।
तथ्यांकमा कर्जा बढेको देखिए पनि आर्थिक मन्दीका कारण मदिरा उद्योगको स्थिति राम्रो नभएको नेपाल मदिरा उत्पादक संघका पूर्वअध्यक्ष रवि केसीले बताए।
‘अहिले स्वदेशी मदिरा व्यापार २५ प्रतिशत घटेको छ। पहिला नेपालको मदिरा भारत जान्थ्यो भने अहिले भारतीय मदिरा सस्तो भएका कारण नेपाल भित्रिरहेको अवस्था छ,’ केसीले क्यापिटल नेपालसँग भने, ‘अहिले कुनै नेपाली मदिरा उत्पादकको वित्तीय अवस्था राम्रो छैन।’
व्यापार घटेपछि मदिरा उत्पादकले व्यवसाय धानिराख्न कर्जा लिएको हुन सक्ने उनको भनाइ छ।
‘व्यवसाय बढेको कुरामा त यर्थाथ छैन। बरु, अहिले भएको व्यवसाय धानिराख्न र आफ्नो दैनिक खर्च जुटाउन व्यवसायीले ऋण थपेको हुनसक्छ,’ केसीले भने।
अहिले मुलुकमा ८० भन्दा धेरै मदिरा उत्पादक कम्पनी रहेको र सबैजसो कम्पनी धराशयी अवस्थामा रहेको केसीको भनाइ छ।
केसीको भनाइलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत एकमात्र मदिरा उत्पादक हिमालयन डिस्टिलरी लिमिटेडको वित्तीय विवरणले पुष्टि गर्छ।
हिमालयन डिस्टिलरीको खुदनाफा गत आर्थिक वर्ष साढे ३७ प्रतिशत घटेर ६६ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।
अघिल्लो आर्थिक वर्ष सोही अवधिमा हिमालयनले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो। हिमालयनको उत्पादन बिक्रीबाट हुने आम्दानी ८ अर्ब ५६ करोड रुपैयाँबाट घटेर ६ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ।
बजारमा नयाँ ब्रान्डका मदिरा आगमन, उच्च प्रतिस्पर्धाजस्ता कारण सम्पूर्ण अर्थतन्त्रमा असर पर्दा उद्योगको कारोबार घट्न गएको हिमालयनले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा मात्र नेपालमा २ अर्ब ९८ करोड ५३ लाख ३० हजार रुपैयाँबराबरको ३३ लाख ५६ हजार १ सय ४८ लिटर विभिन्न प्रकारका मदिरा तथा मदिराजन्य पदार्थ आयात भएको थियो।
त्यस्तै सोही अवधिमा नेपालबाट २८ करोड ७३ लाख ७२ हजार रुपैयाँबराबरको ९५ हजार ८३ लिटर मदिरा तथा मदिराजन्य पदार्थ आयात भएको छ। नेपालमा विभिन्न प्रकारका ८० भन्दा बढी मदिरा उद्योग सञ्चालनमा छन्।
नेपाल लिकर्स प्रालि, यति डिस्टिलरी, हिमालयन ब्रुअरी, गोर्खा ब्रुअरी, जावलाखेल डिस्टिलरी, राज ब्रुअरी, युनाइटेड डिस्टिलरी, अविनास डिस्टिलरी, हाइल्यान्ड डिस्टिलरी, सिजी ब्रुअरी, नेपाल डिस्टिलरी, याक ब्रुअरीलगायत साना–ठूला मदिरा कम्पनी सञ्चालनमा छन्।
तथ्यांकअनुसार मदिरा उत्पादकको ऋण बढे पनि सुर्तीमा भने घटेको छ। राष्ट्र बैंकका अनुसार २०७९/८० मा १५.७ प्रतिशत ऋण व्यवसायीले फिर्ता गरेका छन्। सुर्ती उत्पादकले एक वर्षमा २१ करोड ८५ लाख ऋण फिर्ता गरेका हुन्।
२०७९÷८० सम्म सुर्ती उत्पादकले बैंक तथा वित्तीय संस्थालाई १ अर्ब १७ करोड १८ लाख कर्जा तिर्न बाँकी छ।
गत आर्थिक वर्षभन्दा अघिल्लो वर्षको ऋण अधिक छ। सुर्ती उत्पादकले २०७८/७९ सम्म १ अर्ब ३९ करोड ४ लाख रुपैयाँ कर्जा लिएका थिए भने २०७७/७८ सम्म जम्मा ७३ करोड ७९ लाख कर्जा लिएका थिए।
भन्सार विभागको तथ्यांकअनुसार २०७९/८० मा नेपालमा ३ अर्ब ५५ करोड ८३ लाख ४२ हजार रुपैयाँबराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ।
त्यस्तै सोही अवधिमा ११ करोड ९८ लाख २० हजारको सुर्ती तथा सुर्तीजन्य पदार्थ निर्यात भएको देखिन्छ। नेपालमा चुरोट उत्पादन गर्ने एकमात्र कम्पनी सूर्य नेपाल हो।
सूर्य नेपालले वार्षिक २७ अर्ब रुपैयाँको चुरोट कारोबार गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। गत वर्षको नाफाबाट सूर्यले लगानीकर्तालाई साढे १० अर्ब रुपैयाँ लाभांश बाँडेको छ। मदिरा र सूर्तीजन्य वस्तुमा सरकारले वर्षेनि कर बढाउँदै आएको छ।