काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार र निजी क्षेत्र एकअर्काका विरोधी नभएर सहयोगी बन्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
`सरकार, निजी क्षेत्र र व्यवसायी एकापसमा मिल्नुपर्नेमा एकअर्कालाई विरोधी ठानेर हिँड्ने प्रवृत्ति गलत हो,´ मन्त्री ज्वालाले भने, `सरकार व्यवसायी र उद्याेगीलाई नियोजितरूपमा अप्ठेराेपामा पार्न चाहँदैन। यसर्थ, निजी क्षेत्रले पनि सरकारलाई सहयोग गरेर जानुपर्छ।´
उनले विकास बजेट बढाउन आवश्यक भएको पनि बताए। १ खर्ब ६७ अर्बबाट १ खर्ब १३ अर्बमा पूर्वाधार क्षेत्रको बजेट घटाएपछि विकास नहुने उनको भनाइ छ।
`सडक क्षेत्र व्यवस्थित र सुधार गर्दै जानुपर्ने अवस्थामा हामी छौं। दिनहुँ दुर्घटना हुने अवस्था दुखद छ,´ मन्त्री ज्वालाले भने, `सरकार यो अवस्था अन्त्य गर्न निरन्तर प्रयासरत छ।´
उपत्यकामा भएको सडक जामको समस्या अन्त्य गर्न द्रुत बसको अवधारणा अघि बढाएको उनले बताए।
लाइसेन्सको समस्या अन्त्य गर्न आफू प्रयत्नशील रहेको मन्त्री ज्वालाले बताए। अब लाइसेन्सको समस्या छिटोभन्दा छिटो समाधान गर्ने गरी अघि बढ्ने उनले स्पष्ट पारे।