काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै अधिकारीले ११औं महाधिवेशनका लागि अध्यक्षका रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।
आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुने महाधिवेशनमा ‘नेपाल बाहिरको नेपालीको सुख दुःखको साथी‘ भन्ने नारा आत्मसात गर्दै एनआरएनको संस्थागत विकासका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए।
‘मैले लामो समयदेखि एनआरएनमै बसेर नेपालको हित र महिला सशक्तिकरणको आवाज उठाउँदै आएको अवगत नै छ,’ अधिकारीले भने, ‘पछिल्लो समय नेपालमा देखिएको भूराजनीतिक अवस्था, आर्थिक र व्यावसायिक क्षेत्रमा देखिएका समस्यालाई मैले निकै नजिकबाट हेरिरहेको छु।’
नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीले खेल्न सक्ने भूमिका पनि एक महत्वपूर्ण कोशेढुंगो साबित हुन सक्ने बताउँदै लगानीको वातावरण बनाइ दीर्घकालीन आर्थिक सुधार अबको पहिलो आवश्यकता रहेको उनले बताए। नेपालको विकास नेपालीको हितमा रहेर काम गर्न एनआरएनमा आफ्नो भूमिकामा केन्द्रित हुने प्रतिबद्धता जनाए।
‘हिजोको दिनमा नेपालमा भूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारीका कारण नेपाली जनताले भोग्नुपरेको कष्टप्रद क्षणमा पनि हामीले सँगै हातेमालो गरेर अघि बढेका थियौं,’ अध्यक्षका प्रत्यासी अधिकारीले भने, ‘भोलिका दिनमा आइपर्ने विपत व्यवस्थापन, आर्थिक सहायतालगायत अनेक मुद्दामा हातेमालो गर्न सदैव तयार छु।’
नेपाली नागरिकता, पैतृक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसलाअनुसार भोटको अधिकार, भूतपूर्व गोरखाको समान अधिकार पेन्सनको विषयमा एनआरएनएमार्फत सरकारसँग निरन्तर वार्ता र संवादसहित दबाब दिइरहने प्रतिबद्धता समेत उनले जनाएका छन्। गोरखा फुजेलमा जन्मिएका अधिकारी लामो समयदेखि बेलायत बस्दै आएका छन्।