काठमाडौं। बागमती प्रदेशमा सञ्चालन हुने ट्याक्सीलगायत अन्य सार्वजनिक सवारीसाधनको भाडा बढेको छ। नेपाल आयल निगमले गत साउन ३१ गते पेट्रोलियम पदार्थको भाउ बढाएपछि श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको हो।
मन्त्रालयको गत भदौ ४ गते बसेको मन्त्रिरस्तरीय बैठकले साउन ७ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो। नयाँ भाडादर बिहीबार राजपत्रमा प्रकाशित भएको छ।
नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनमा ५ किलोमिटरसम्म १९, १० किलोमिटर २६, १५ किलोमिटर ३१, २० किलोमिटरको ३५ र २० किलोमिटरभन्दा माथिको भाडादर ४० रुपैयाँ पुगेको छ।
त्यस्तै ट्याक्सीको हकमा फ्ल्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटरको भाडादर १० रुपैयाँबाट बढाएर १० रुपैयाँ ३४ पैसा बनाइएको छ। त्यस्तै प्रतिक्षा शुल्क पनि १.२० मिनेटको बढाएर १ रुपैयाँ २४ पैसा बनाइएको छ।
त्यसैगरी रात्रिकालिन ट्याक्सी सेवाको भाडादर फ्ल्याग डाउन ५२ रुपैयाँलाई यथावत राखी बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म प्रति २ सय मिटरको १५ रुपैयाँ ५२ पैसा बनाइएको छ।
त्यस्तै उपत्यका बाहेकका स्थानमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको भाडा ५.३१ प्रतिशत वृद्धि गरिएको छ।
यातायात व्यवस्था विभागले केही दिनअघि अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा बढाएको थियो।
विभागले २०८० साउन १ को डिजेलको औसत बजार मूल्य १ सय ४४ रुपैयाँ ८३ पैसामा २०८० साउन ३१ सम्ममा २१ रुपैयाँ वृद्धि भई औसत बजार मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ ८३ पैसा कायम भएको थियो।
उक्त मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा १४.५० प्रतिशत बढी भएकाले साउन ३१ देखि नै लागू हुने गरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरिएका थियो।
विभागले अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारीसाधनमा ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ६.१५ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ६.८३ प्रतिशत भाडा वृद्धि गरेको थियो।