काठमाडौं। बेलायतको लन्डनबाट निकट भविष्यमा उडान सञ्चालन गर्न लागेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले ‘डिजिटल ट्रान्फर्मेसन’ का लागि इन्फोसिससँग ४ करोड बेलायती पाउन्ड (६ अर्ब ६४ करोड रुपैयाँ) बराबरको समझदारी गरेको छ।
नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले सञ्चालन गर्न लागेको हिमालय जेटले कम्पनीको डिजिटल ट्रान्फर्मेसनका लागि इन्फोसिससँग उक्त परिमाणबराबरको समझदारी गरेको विज्ञप्तिमार्फत जनाएको छ।
हिमालय जेटको मूल्यांकन १ अर्ब ६० करोड पाउन्ड (२ खर्ब ६७ अर्ब २० करोड रुपैयाँ) बराबर रहेको छ।
इन्फोसिस भारतको बैंगलुरूमा सन् १९८१ मा स्थापित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी हो। इन्फोसिसको मूल्यांकन ७० अर्ब अमेरिकी डलरबराबर छ। डिजिटल ट्रान्फर्मेसनका लागि हिमालय जेटसँग रणनीतिक साझेदारी गरेको इन्फोसिसले अब हिमालय जेटसँगै हिमालय जेट होलिडेज, हिमालय जेट माइल्स र विश्व सुन्दरी प्रतियोगितालगायतको सूचना प्रविधिसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्हाल्ने छ।
गुरुङले लन्डनको हिथ्रो विमानस्थललाई आधार गरेर सन् २०२३ तेस्रो त्रैमासबाट विश्वव्यापी नियमित उडान गर्ने घोषणा केही महिनाअघि गरेका थिए। यसका लागि उनले आवश्यक तयारी तीव्र गतिमा अगाडि बढाएका छन्।
लन्डनबाट चाँडै सञ्चालन हुन लागेको हिमालय जेटले बेलायत, फ्रान्स र जर्मनीबाट नेपाल उडान गर्ने लागेको हो।
लामो दुरी (लङ हल) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट नेपाल उडान गर्न लागेको हो।
हिमालय जेटले १८ थान ठूला आकार (वाइड बडी) जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने जानकारी आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ।
कम्पनीले लन्डन, म्यानचेस्टर, पेरिस र फ्र्यांकफर्टबाट सिधा काठमाडौं उडान गर्ने र यहाँबाट पनि ती गन्तव्यका लागि सिधा उडान गर्ने जनाएको छ।
पहिलो चरणमा १८ थान वाइड बडी जहाज उडाउन ५५ क्याप्टेन र ५५ कोपाइलटसहित एक दर्जन उच्च तहका कार्यकारी अधिकृत तथा थप करिब २ हजार ५ सय कर्मचारी भर्ना गर्न कम्पनीले यसअघि नै दर्खास्त आह्वान गरेको थियो।
कम्पनीले विभिन्न देशका ३० अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर काम गर्न करिब २ हजार ५ सय कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको थियो। लन्डनमा दर्ता भएको हिमालय जेटको हिथ्रो विमानस्थल टर्मिनल २ मा मुख्यालयमा छ।
बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्वीजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, युएई, साउदी अरब, अस्ट्रेलिया लगायत लामो दुरीका गन्तव्यमा ‘प्रिमियम’ सिधा उडान गर्ने तयारी गरेको छ।
हिमालय जेट ‘स्टार्टअप’ एयरलाइन कम्पनी हो। यसले बेलायतलाई आधार गरेर प्रिमियम उडान गर्न लागेको हो। हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुले भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ। युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सञ्चालन गर्न लागिएको हो।
सिधा उडान गर्दा यात्रुको समय र खर्च ३० प्रतिशत जोगिने कम्पनीले जनाएको छ। हिमालय जेटले युरोप, अमेरिका, एसिया र अस्ट्रेलिया गरी चार महादेश जोड्ने छ।
हिमालय जेटले हिमाली क्षेत्र पुग्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई सिधा र सुविधायुक्त उडान उपलब्ध गराउनेमात्र नभई, लक्जरी होटल र अन्य सम्बन्धित पर्यटन गतिविधिमा सहभागी गराउने पनि उल्लेख गरेको छ।
गुरुङले २०२५ बाट मन्टेकार्लो, मकाओ र लासभेगासका लागि नियमित व्यावसायिक उडान गर्ने तयारी भए पनि यो वर्षभित्र नेपालका लागि सिधा चार्टर उडानसँगै विश्वका ३३ प्रमुख सहरमा पनि उडान सञ्चालन गरिने जनाएका छन्। गुरुङ विश्व सुन्दरी प्रतियोगिताका सहआयोजक पनि हुन्। गुरुङले विश्वप्रसिद्ध फिल्म मल्टिप्लेक्स चेन ‘प्राइभा लक्जरी सिनेमाज’ देखि लक्जरी हाेटलहरू पनि सञ्चालन गर्दै आएका छन्।