काठमाडौं। नेपालमा विषादीरहीत कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्रान्डको सातौं स्टोर बूढानीलकण्ठमा खुलेको छ।
काठमाडौं बूढानीलकण्ठस्थित देउवा चोकमा सुरु भएको स्टोरले आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकको घरदैलोमा पुर्याउने नयाँ अध्यायले थप गति लिएको जनाएको छ।
माटोका अध्यक्ष पवन कुमार गोल्यानले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाइरहेको बेला यो स्टोर सञ्चालनमा ल्याएको बताए।
किसानका भोगाइ र सङ्घर्षको जिवन्त अवलोकनपछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो। माटोको स्थापना किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यका साथ गरिएको उनले बताए।
सुरुमा स्टोरमा गोल्यान एग्रो फार्मबाट अर्गानिकरूपमा उत्पादित फलफूल र तरकारीमा आधारित, विषादीरहीत उत्पादनहरूको प्रवर्द्धन गर्ने ब्रान्डक रूपमा परिचित भएको थियो।
माटोले वातावरणमैत्री खेती विधि प्रवर्द्धकको रूपमा जैविक खेतीलाई प्रोत्साहित गरेर, विषादीयुक्त रसायन वा मल प्रयोग गरेर उत्पादन गर्ने विधिलाइ निरुत्साहित गर्ने विश्वास रहेको उनले बताए।
माटोले सबै स्थानिय ग्राहकलाई ताजा र जनस्वास्थ्यका दृष्टिकोणले गुणस्तरीय उत्पादनको स्वाद लिन आह्वानसमेत गरेको छ।
उद्घाटन अवसरमा ग्राहकलाई उत्कृष्ट छुट र विशेष उपहारको व्यवस्था गरिएको थियो।
यसअघि काठमाडौंको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेमामा माटोका स्टोरहरु सञ्चालमा आइसकेको छ। माटोले अनलाइन अर्डरअनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहीत उत्पादन आपूर्ति गरिरहेको छ।
माटोले देशभरिका स्थानीय फार्महरूबाट उत्पादन गरिएका अर्गानिक उत्पादनसँगै लाङ्ग्टाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, इलामको शुद्ध गाईको घ्यु बजारसम्म पुर्याउन प्रोत्साहन गरिरहेको छ ।
माटोका स्टोरहरुमा आशापुरी अग्र्यानिकका उत्पादन पनि खरिद गर्न सकिने जनाएको छ। आशापुरी विगत दुई दशकदेखि प्रागारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्रान्ड हो । हाल माटो र आशापुरी दुवै कम्पनी जनता एग्रो एन्ड फरेस्ट्री प्रालि मातहतमा छन्। माटो स्टोरबाट हाल १ सय २० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन्।