काठमाडौं। पछिल्ला वर्ष बैंक तथा वित्तीय संस्थाले होटलतर्फकाे ऋण लगानी बढाउँदै लगेका छन्। गत आर्थिक वर्ष होटलमा बैंकको ऋण लगानी ९.१ प्रतिशत बढेको छ।
एक वर्ष अवधिमा बैंकहरूले होटल क्षेत्रमा १४ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ थप ऋण लगानी गरेका छन्। यस्तै अघिल्लो आर्थिक वर्ष १४ अर्ब ५६ करोड रुपैयाँ लगानी थियो।
गत असारसम्म होटलमा बैंकको ऋण लगानी बढेर १ खर्ब ७४ अर्ब ८९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। होटल व्यवसायीले २०७८/७९ सम्म कूल १ खर्ब ६० अर्ब ३१ करोड १८ लाख र २०७७/७८ सम्म १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लिएका थिए।
सरकारले सन् २०२० लाई 'नेपाल भ्रमण वर्ष' मनाउने योजना सार्वजनिक गरेको थियो। सोही योजना लक्ष्य गरी पर्यटन व्यवसायीले विभिन्न स्तरका होटल निर्माण थालेका थिए। २०१९ बाट विश्वव्यापी कोरोना महामारी फैलिएपछि सरकारले नेपाल भ्रमण वर्ष मनाउने योजना रद्द गरेको थियो। नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी व्यवसायीले बैंकबाट ऋण लिएर होटल बनाइरहेका छन्।
होटलमा कर्जा बढिरहँदा अन्य पर्यटकीय क्षेत्रमा भने घटिरहेको छ। राष्ट्र बैंकका अनुसार ट्रेकिङ (पदयात्रा), माउन्टेनियरिङ (पर्वतारोहण), र्याफ्टिङ, रिसोर्ट र क्याम्पिङमा भने १.५ प्रतिशत कर्जा घटेको हो।
आर्थिक वर्ष २०७९/८० मा मात्र यस क्षेत्रमा ३८ करोड १८ लाख रुपैयाँमात्र कर्जा घटेको हो। तथ्यांकअनुसार २०७९/८० सम्म यस क्षेत्रमा कूल २४ अर्ब ४० करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। त्यस्तै २०७८/७९ मा २४ अर्ब ७८ करोड ४३ लाख र २०७७/७८ मा २५ अर्ब २२ करोड ६८ लाख कर्जा दिएका थिए।
कोभिडको समयमा अरू काम रोकिए पनि होटल निमार्णको काम नरोकिएका कारण होटल क्षेत्रमा कर्जा गएको होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाहले बताए।
‘कोभिड सुरु हुनुअघि धेरै होटल प्लानिङमा थिए। कोभिडका कारण काम रोके खर्च बढ्ने जोखिम थियो। त्यसकारण कसैले पनि काम रोकेनन्। त्यही भएर होटल क्षेत्रमा कर्जा गएको हो,’ शाहले भने, ‘त्यस्तै कोभिडकै कारण होटल बन्द भएपछि पुनः सञ्चालन गर्दा रेनोभेसन, नियमित सञ्चालन खर्चलगायत कामका लागि ऋण गएको हो।’
ट्रेकिङ, माउन्टेनियरिङ, र्याफ्टिङ, रिसोर्ट र क्याम्पिङलगायत क्षेत्रमा भने काम रोकिएरै कर्जा घटेको शाहको तर्क छ। ‘यी क्षेत्रमा त पूरै काम ठप्प भयो। यसमा व्यवसायीले लगानी थप्ने जोखिम मोलेनन्। त्यसकारण कर्जा घटेको हो,’ उनले भने।
नेपालमा होटल संख्याको दाँजोमा पर्यटक तान्न नसकिएको उनको तर्क छ। ‘पछिल्लो एक वर्ष हेर्ने हो भने धमाधम तारेहोटल खुलेका छन्। अरू पनि खुल्ने तयारीमा छन्,’ उनले भने, ‘हाम्रो सप्लाइ क्षमताअनुसार डिमान्ड एक तिहाइ पनि छैन।’
अहिले पोखरामा पाँचतारे स्तरको बाराही सेदी, झापामा इस्टर्न, राजधानीको बूढानीलकण्ठमा फरेस्ट इन, नगरकोटमा आगन्तुक र बूढानीलकण्ठ हेरिटेज, नक्सालमा हिल्टन, सेराटनलगायत दुई दर्जन बढी तारेस्तरका होटल निर्माणाधीन अवस्थामा छन्।