महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोले यातायात सेवा नियमित हुन नसकेपछि कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ।
पहिरोका कारण सडक नियमित सुचारु हुन नसक्दा पहाडी जिल्ला बैतडी, डडेल्धुरा र डोटीबाट यहाँ आउने तरकारी आयातसमेत प्रभावित बनेको छ।
तरकारी उत्पादन गरी बिक्री वितरण गर्ने बेला सडक अवरुद्ध भएपछि किसान मर्कामा परेका छन् भने तराईका कैलाली र कञ्चनपुरका सदरमुकाम र आसपासका क्षेत्रका उपभोक्ताले पहाडको तरकारी सहजरूपमा पाउन सक्ने वातावरण तयार हुन सकेको छैन्।
महेन्द्रनगरस्थित कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले अहिले पहाडी जिल्लाबाट विगतको तुलानामा आधा जतिमात्रै तरकारी आयात भइरहेको जानकारी दिए।
‘सडक अवरुद्ध हुनुअघि दैनिक ४० देखि ५० क्विन्टल तरकारी पहाडबाट आउथ्यो,’ अध्यक्ष साटेनारले भने, ‘अहिले सडक अवरुद्ध भएको ठाउँमा मजदुरी लगाएर ढुवानी गराउनुपर्ने र आयात पनि कम हुँदा बजारमा तरकारीको मूल्य वृद्धि हुन पुग्यो।’
उनका अनुसार महेन्द्रनगरमा विगत लामो समयदेखि डडेल्धुराका विभिन्न पालिका, डोटीको गैरा, बैतडीको खोड्पेलगायतका स्थानबाट यहाँ तरकारी आयात हुन्थ्यो।
‘सुदूरपश्चिमको पहाडी जिल्लाको तरकारी नेपालगञ्ज बुटवलसम्म पनि निर्यात हुन्छ,’ उनले भने, ‘यहाँ लगातारको वर्षाका कारण स्थानीय किसानले लगाएको तरकारीबालीमा समेत क्षति पुगेको छ।’
केही समयअघि कैलालीको बुढितोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक अस्थायीरूपमा आवागमनका लागि सहजता मिल्ने गरी निर्माण गरिएको छ।
तर, अझै उक्त क्षेत्रमा साना सवारीसाधन फस्ने लगायतका समस्या भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुपरभाइजर दिनेश खनालले जानकारी दिए।
‘ठूला सवारीसाधन चल्न समस्या छैन्,’ सडक निर्माणमा खटिएका खनालले भने, ‘पहिरो गएको ठाउँमा तारजाली भरान गरेर अस्थायी बाटो सञ्चालनमा ल्याएका छौँ।’
त्यसका साथै त्यसको विकल्पका रुपमा कञ्चनपुरको दैजी–जोगबुढा सडक सुचारु गर्न पनि काम अघि बढेको छ।
यो मौसममा पहाडी जिल्लाबाट फूलकाउली, मुला, धनिया, खुर्सानी, गोलभेडा आलु, बन्दा, निउरो, सिमी र हरियो सागलगायत तरकारी तराईमा निर्यात हुन्छ।
कञ्चनपुरमा अहिले स्थानीय उत्पादन र भारतबाट तरकारी आयात गरिँदै छ।
‘वर्षाले स्थानीय उत्पादनमा पनि ह्रास आउने अवस्था आयो,’ उनले भने, ‘उत्पादन कम हुँदा मूल्य वृद्धि हुने गर्छ।’
त्यसैगरी फलफुल व्यवसायी संघ कैलालीका अध्यक्ष हरि भट्टले पहाडी जिल्लाबाट तरकारी आयातमा कमी आउँदा बजारमा तरकारीको अभाव रहेको बताए।
‘पहाडबाट दैनिक ५० क्विन्टल भन्दा बढी तरकारी आयात हुन्थ्यो,’ उनले भने, ‘सडक अवरुद्ध भएका बेला किसानको तरकारी बाटोमै कुहिने स्थिति पनि यो पाली आयो।’
उनले सडककै कारण तरकारी समेत कुहिने, दागी हुने समस्या भइरहेको बताए। यहाँ स्थानीय उत्पादनले बजारमा तरकारी पाइरहेको बताउँदै पहाडबाट तरकारी नियमित नआउँदा भारतबाट गोलभेडा लगायतको तरकारी आयात गर्नुपरेको बताए।
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का वडाध्यक्ष बसन्तबहादुर चटौतले किसानको तरकारी सडकअवरुद्ध हुँदा नोक्सान भएको बताए।
‘मेरो वडामा मात्रै ५० प्रतिशत किसान तरकारी उत्पादनमा छन्,’ उनले भने, ‘सिजनमा यहाँ फलेको गोलभेडा भारतको बरेलीसम्म पुग्छ।’
उनले पछिल्लो समय फाटफुट तरकारी निर्यात भइरहेको भए पनि साउन अन्तिम साता भने किसान धेरै मर्कामा परेको बताए।