बागमती। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले २ अर्ब ३७ करोड ८२ लाख ९८ हजार ३ सय ६० रुपैयाँ विद्युत महसुल उठाउन बाँकी रहेको जनाएको छ।
विद्युत बक्यौता नतिर्ने हेटौंडास्थित शिवम् सिमेन्ट उद्योगसहित ९ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए। उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन।
इञ्जिनियर चौहनले उद्योगले हालसम्मको २ अर्ब २४ करोड रुपैयाँ विद्युत महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए।
‘उद्योगलाई विद्युत आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’ को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो,’ उनले भने, ‘त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ।’
उद्योगसहित विद्युत बक्यौता नतिर्ने ९ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए।
महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो।
‘कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ,’ इञ्जिनियर चौहनले भने, ‘पाँच जनाबाट १ लाख २२ हजार ५ सय ९२ रुपैयाँ संकलन गरिएको छ।’ उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत वितरण भने भइरहेको छ।
प्राधिकरण हेटौंडाले हाल विद्युत चोरी नियन्त्रण गर्न सफल भएको उनले जनाए। विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो।
विद्युत चोरी गर्ने २१ जनाबाट प्राधिकरणले १ लाख ६६ हजार ९१ रुपैयाँ जरिवाना लिएको उनले जानकारी दिए।