काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक महिनामै १८ हजारभन्दा बढी ग्राहक गुमाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआइएस रिपोर्टअनुसार वर्ल्डलिंकले एक महिनामै यति ठूलो संख्यामा ग्राहक गुमाएको हो।
रिपोर्टअनुसार २०७९ चैतसम्म वर्ल्डलिंक ग्राहकसंख्या ७ लाख ७१ हजार ४ सय ६२ थियो। तर, २०८० वैशाखमा आउँदा एक महिनामै वर्ल्डलिंकले १८ हजार ८ सय ८९ ग्राहक गुमाउँदै ७ लाख ५२ हजार ५ सय ७३ मा सिमित भएको हो।
वर्ल्डलिंकपछि डिस मिडिया नेटवर्क (डिसहोम) र नेपाल टेलिकमले पनि उच्च संख्यामा ग्राहक गुमाएका छन्। चैतसम्म २ लाख ४० हजार ६ सय ६८ ग्राहकसंख्या रहेको डिसहोमले एक महिनामा ११ हजार २२ ग्राहक गुमाउँदै २ लाख २९ हजार ६ सय ४६ ग्राहकमा सिमित भएको छ। त्यस्तै चैतसम्म २ लाख ८७ हजार १ सय ९० ग्राहक रहेको नेपाल टेलिकमले एक महिनामा १० हजार २ सय ६२ ग्राहक गुमाउँदै ७ लाख ५२ हजार ५ सय ७३ मा सिमित भएको छ।
यस एक महिना अवधिमा सुबिसुले ४ हजार ७ सय ५९ र ब्रोडलिंकले २ हजार ५ सय ९६ ग्राहक गुमाएका छन्। साथै, यस अवधिमा वेब सफरले सबैभन्दा बढी ५ हजार ३ सय १२ ग्राहक थप गर्दा सिजी नेटले ४ सय ८२ नयाँ ग्राहक थपेको छ। यसैगरी भायानेट, क्लासिक टेक र टेक माइन्ड्सको ग्राहकमा भने एक महिना अवधिमा कुनै घटबढ भएको छैन।
यसो त, ०७९ चैतबाट ०८० वैशाखसम्मको एक महिना अवधिमा समग्र इन्टरनेट सेवा प्रदायकका ग्राहक संख्यामा गिरावट आएको देखिन्छ। चैतमा २६ लाख ७३ हजार ४ सय ७१ रहेको कूल सेवा प्रदायक ग्राहकसंख्या वैशाखमा ३७ हजार ७ सय ७८ ले घटेर २६ लाख ३५ हजार ६ सय ९३ मा सिमित भएको छ।
एक वर्षको ग्राहक तथ्यांक भने फरक
रिपोर्टअनुसार गएको एक वर्ष २०७९ वैशाखदेखि २०८० वैशाखसम्ममा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र डिसहोमले सबैभन्दा बढी ग्राहक थप्दा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले भने सबैभन्दा बढी ग्राहक गुमाएको छ। प्राधिकरणले सार्वजनिक गरेको एमआइएस रिपोर्टअनुसार वर्ल्डलिंक र डिसहोम सबैभन्दा बढी ग्राहक थप्ने सेवा प्रदायक बन्दा नेपाल दूरसञ्चार कम्पनी भने सबैभन्दा बढी ग्राहक गुमाउनेमा परेको पाइएको हो।
रिपोर्टअनुसार २०७९ को वैशाखमा वर्ल्डलिंक ग्राहक संख्या ६ लाख ३० हजार २ सय ९६ थियो। तर, २०८० वैशाखसम्म आइपुग्दा वर्ल्डलिंकले आफ्नो संख्या बढाएर ७ लाख ५२ हजार ५ सय ७३ पुर्याएको छ। त्यस्तै गत गर्ष १ लाख ६ हजार ३ सय ७५ ग्राहक रहेको डिसहोमले दोब्बर बढी ग्राहक थप्दै २ लाख २९ हजार ६ सय ४६ पुर्याएको छ।
यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले २ लाख २१ हजार १७ ग्राहकबाट बढाएर २ लाख ७० हजार ३३, भायानेटले २ लाख २० हजार २ सय ७० ग्राहकबाट बढाएर २ लाख ६४ हजार ८३, सुबिसुले २ लाख २८ हजार ७ सय ९५ ग्राहकबाट बढाएर २ लाख ५५ हजार ३ सय ९४ ग्राहक संख्या पुर्याएको छ।
गएको एक वर्षमा वेबसफर, टेकमाइन्ड्स, ब्रोडलिंक र सिजीलगायतका सेवा प्रदायकले पनि आफ्नो ग्राहक संख्या वृद्धि गरेका छन्। तर, नेपाल दूरसञ्चार कम्पनी भने गएको एक वर्षमा सर्वाधिक ग्राहक गुमाउने सेवा प्रदायक बनेको छ।
०७९ वैशाखमा २ लाख ९८ हजार ३ सय ७४ ग्राहक संख्या रहेको नेपाल दूरसञ्चार कम्पनीको संख्या घटेर ०८० वैशाखमा आइपुग्दा २ लाख ७६ हजार ९ सय २८ मा सिमित भएको छ। रिपोर्टअनुसार गत वर्ष ०७९ वैशाखमा २१ लाख ३७ हजार ९ सय ६१ रहेको कूल ग्राहक संख्या ०८० वैशाखमा आइपुग्दा २६ लाख ३५ हजार ६ सय ९३ कायम भएको देखिन्छ।