म्याग्दी। मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्याएको क्षति विवरण १० दिनपछि आज सार्वजनिक गरिएको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा संकलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब १ अर्ब रुपैयाँको क्षत्ति पुर्याएकोे जनाएको छ। भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र संघसंस्थाको समूहमा क्षति विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए।
‘नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ हजार रुपैयाँबराबर क्षति भएको छ,’ उनले भने, ‘सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ वटा भौतिक पूर्वाधारतर्फ २१ करोड २ लाख रुपैयाँबराबर क्षति भएको छ।’
उक्त क्षतिमध्ये व्यक्तिका ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ। २२ वटा घर पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको छ। नौवटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति हुँदा २४ गाई र एक घोडा मरेका छन्।
१९ दुईपाङ्ग्रे र तीनवटा चारपाङ्ग्रे सवारीसाधन क्षति भएको छ। १९जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको ३ करोड ९ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ। १२ वटा सरकारी तथा सामुदायिक संरचनामा ४ करोड ८० लाख ६० हजार रुपैयाँ क्षति भएको गाउँपालिकाले जनाएको छ।
१८ जना किसानको ४५ रोपनीभन्दा बढी जग्गा बाढीले पुरेको छ। २ सय ७४ स्याउका बोट बाढीले नष्ट गरेको छ। साउन २८ गते साँझ ८ बजे कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढी कागबेनीको बस्तीमा पसेको थियो। कागबेनीमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा र प्रभु बैंक शाखा रहेको घरमा बाढी पन्छाउने क्रममा सुरक्षाकर्मीलाई आइतबार लकरमा राखेको १ करोड ६५ लाख रुपैयाँ सुरक्षित भेटाएर सम्बन्धित बैंकलाई बुझाएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।
माथिल्लो क्षेत्रका बासिन्दाले सूचना दिएपछि भागेर ज्यान बचाएका कागबेनीका बासिन्दाले ठूलो भौतिक क्षति ब्यहोर्नुपरेको छ। कागबेनीको बस्तीभित्र पसेको बाढी पन्छाउने, उपल्लो मुस्ताङ जोड्ने सडक मर्मत, खानेपानी, विद्युत आपूर्तिलगायत काममा जनप्रतिनिधि, स्थानीयवासी र सरकारी निकाय जुटेका छन्।