काठमाडौं। घरजग्गा व्यवसाय वृहतरूपमा अघि बढाउन यस क्षेत्रका व्यवसायीको लगानीमा हालसम्मकै ठूलो हाउजिङ कम्पनी स्थापना प्रक्रिया अगाडि बढेको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघको अगुवाइमा ५० अर्ब रुपैयाँ लगानीमा वृहत कम्पनी खुल्ने भएको हो। नयाँ खुल्ने कम्पनीलाई सबैभन्दा ठूलो चुक्ता पुँजी भएको कम्पनी बनाउन लागिएको छ।
‘स्मार्ट सिटी’ बनाउन ठूलो लगानी चाहिने भएकाले घरजग्गा व्यवसायी मिलेर मेगा कम्पनी स्थापना गर्न लागेको महासंघ अध्यक्ष भेषराज लोहनीले बताए।
महासंघमा छलफल भई कम्पनी दर्ता प्रक्रिया अघि बढाउने तयारीमा रहेको उनले सुनाए। नेपाली पुँजीबाट कम्पनी स्थापना गर्ने योजना छ।
महासंघमा आबद्ध व्यवसायीका साथै सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) जारी गरेर पुँजी जुटाउने योजना रहेको उनले सुनाए।
कम्पनी स्थापनापछि सातवटै प्रदेशमा वृहत आवास योजना लिएर अघि बढ्ने तयारी रहेको अध्यक्ष लोहनीले बताए।
व्यवस्थित आवासका लागि ठूलो लगानी गरेर देशभरि योजनाबद्ध सहर विकास गर्न लागिएको अध्यक्ष लोहनीको भनाइ छ।
‘साना हाउजिङ परियोजना बनाएरमात्र हुँदैन, अब सबै व्यवसायी मिलेर ठूलो सहरी विकास योजना सञ्चालनको तयारीमा छौं। त्यसैका लागि कम्पनी गठन गरिएको हो,’ अध्यक्ष लोहनीले क्यापिटल नेपालसँग भने।
उक्त परियोजनाले नेपालमा घरजग्गा व्यवसायको नयाँ नजिर स्थापित गर्ने उनले बताए। ‘घरजग्गा व्यवसायमा अहिलेसम्म हाम्रो देशमा यति ठूलो प्रोजेक्ट बनेकै छैन। यो प्रोजेक्टले एउटा नजिर स्थापित गर्ने छ,’ लोहनीले भने, ‘पहिलो चरणमा सातवटै प्रदेशमा एक/एकवटा प्रोजेक्ट गर्ने तयारी छ। त्यसपछि अरू ठाउँमा सुरु गर्छौं।’
घरजग्गा व्यवसायले कूल गार्हस्थ उत्पादन (जिडिपी) मा ठूलो योगदान गरे पनि यो व्यवसाय व्यवस्थित हुन नसकेको उनको तर्क छ।
‘यो व्यवसायले जिडिपीमा ८.३ प्रतिशतसम्म योगदान गरेको छ। व्यवसाय व्यवस्थित नहुँदा वार्षिक करिब ५० अर्ब रुपैयाँ राजस्व त सरकारले गुमाइरहेको छ,’ उनले भने।
घरजग्गा व्यवसाय व्यवस्थित बनाए राजस्व बढ्नुका साथै उपभोक्ता ठगिने समस्या पनि हल हुने उनको भनाइ छ।
केही दिनअघि मात्र मन्त्रिपरिषदले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ।
नियमावली संशोधनपछि स्थानीय तहबाट जग्गा वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुलेको छ। सरकारले गत वर्ष जेठमा जग्गाको प्रभावकारी व्यवस्थापन गर्ने भन्दै भूउपयोग नियमावली जारी गर्दा कित्ताकाट रोकेको थियो। जग्गाको कित्ताकाट खुलेपछि घरजग्गा व्यवसाय चलायमान बनाउने उनले बताए।
घरजग्गा कारोबार बढ्न थाल्यो
यता अघिल्लो वर्षको तुलनामा घरजग्गा कारोबार बढेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ साउनमा ५ हजार ४ सय २९ वटा कारोबार बढेको छ।
चालू आर्थिक वर्ष साउनमा ३९ हजार २ सय ६३ घरजग्गा किनबेच भएको छ। गत आर्थिक वर्ष सोही अवधिमा ३३ हजार ८ सय ३४ वटा घरजग्गा कारोबार भएको थियो।
चालू आर्थिक वर्ष साउनमा सुनसरीस्थित भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाबाट २ हजार २ सय ५७ वटा कारोबार भएको थियो भने सर्लाही मलंगवा र बलरा, सिर्दिबास, चन्द्रौटा र बुटवल कार्यालयबाट भने कुनै पनि किनबेच हुन सकेन।
त्यस्तै २०७८ साउनमा ७५ हजार ४ सय १७ र २०७७ साउनमा ३७ हजार ९ सय ७० किनबेच भएको थियो।
अघिल्लो वर्ष साउनभन्दा बढे पनि कारोबार असारभन्दा घटेको छ। तथ्यांकअनुसार गत असारमा ४४ हजार ४ सय ८५ घरजग्गा कारोबार भएको थियो।
साउन र भदौमा घरजग्गाका लागि अफसिजन भएकाले कारोबारमा गिरावट आएको लोहनीले बताए। चालू आर्थिक वर्षको जग्गाको कित्ताकाट पनि बढेको छ। यो महिना ३५ हजार २ सय ९१ जग्गाको कित्ताकाट भई ७७ हजार ६८ कित्ता पुगेको छ।
गत आर्थिक वर्ष यही महिना ८ हजार ६ सय ८५ जग्गा कित्ताकाट भई १५ हजार ३ सय ५ कित्ता पुगेको थियो। त्यसैगरी असारको तुलनामा कित्ताकाट घटेको छ। असारमा ४२ हजार ४ सय ९४ कित्ताकाट भई १ लाख ३६ कित्ता कायम भएको थियो।
गत आर्थिक वर्ष साउनभन्दा यो वर्ष राजस्वमा वृद्धि भएको छ। चालू आर्थिक वर्ष साउनमा २१ करोड ६६ लाख ७९ हजार २ सय ५६ रुपैयाँबराबर राजस्व संकलन भएको छ भने २०७८/७९ मा २० करोड १६ लाख ९७ हजार ६० रुपैयाँबराबर राजस्व संकलन भएको थियो। त्यस्तै गत असारमा ३० करोड १८ लाख ६९ हजार ३८ रुपैयाँ संकलन भएको थियो।