काठमाडौं। थाइल्यान्डको सरकारी वायुसेवा कम्पनी थाई एयरवेज इन्टरनेसनलले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि ‘जनरल सेल्स एजेन्ट’ (जिएसए) नियुक्त गरेको छ।
दुई कम्पनीबीच भएको सम्झौताअनुसार सोसाइटी इन्टरनेसनलले थाईका लागि ग्राहक र एजेन्ट सपोर्ट सेवासहित सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवा उपलब्ध गराउने छ।
त्यसैगरी थाईले कोभिड–१९ महामारीका कारण सन् २०२० अप्रिलदेखि रोकिएको काठमाडौं उडान आगामी नोभेम्बरबाट पुनः सञ्चालन गर्ने छ।
थाईले १९६८ डिसेम्बरमा नेपालका लागि पहिलो उडान सञ्चालन गरेको थियो।
थाईका चिफ कमर्सियल अफिसर कोराकोट चटासिङ्घाले थाईको काठमाडौं उडान पुनः सञ्चालनमा आउन लागेकोमा खुसी व्यक्त गरे।
‘थाइल्यान्डभित्रका विभिन्न आन्तरिक तथा विश्वप्रसिद्ध गन्तव्य जस्तै फुकेट, पटाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाईको पुनः उडान सञ्चालनले नेपाली पर्यटक र अन्य यात्रुलाई जोड्ने छ,’ उनले भने।
उनले अस्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरमा थाईको उडान रहेकाले नेपाली यात्रुलाई सहज र सुरक्षित उडान विकल्प दिइने बताए।
आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले थाई एयरवेजको जिएसए नियुक्त हुन पाउँदा काम गर्न हौसला मिलेको बताए।