काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधि क्षेत्रमा हुन सक्ने सहकार्यका बारेमा कुराकानी भएको छ।
भेटमा मन्त्री शर्माले सूचना प्रविधि विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्। नेपालको आर्थिक समृद्धिको प्रमुख आधार अब सूचना तथा सञ्चार प्रविधि हुने उल्लेख गर्दै उनले यो क्षेत्रको विकास गर्न राष्ट्रहितमा हुने गरी सबैसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्।
सरकारले यो वर्षदेखि वार्षिक पुँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरिसकेको उल्लेख गर्दै उनले सूचना प्रविधि विकासलाई आर्थिक समृद्धिको आधारका रूपमा लिन थालिएको बताइन्।
भर्खरैमात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको बताइन्।
अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले यसलाई थप सुरक्षित र भरपर्दो बनाउन थालिएको जानकारी दिइन्।
मन्त्री शर्माले यो वर्षभित्र आइसिटी एक्जिबिसन, डिजिटल च्याम्पियन, व्यावसायिक तालिम, डिजिटल साक्षरतालगायतका कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी दिँदै उनले यसमा विभिन्न देशका अनुभव नेपालका लागि फलदायी हुने बताइन्।
चालू आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्याउने तयारी थालेको जानकारी दिँदै उनले अब फोरजी सेवा सबै ठाउँ विस्तार गरेर फाइभजी विस्तार गर्ने बताइन्।
‘सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ,’ मन्त्री शर्माले भनिन्, ‘नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जिटुजी, पिटुपी (सरकार–सरकार, जनता–जनता) सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौं।’
राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको बताए। कोरिया नेपालमा वैदेशिक लगानी गर्ने चौथो मुलुक रहेको जानकारी दिँदै उनले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको बताए।