काठमाडौं। २०७९ चैतबाट पूर्वी नेपालमा देखापरेको गाई तथा भैंसीमा लाग्ने लम्पी स्किन रोग मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। तर, बागमती र मधेश प्रदेशमा भने अझै संक्रमित पशुको संख्या बढिरहेको पशुसेवा विभागले जनाएको छ।
देशका अन्य स्थानमा क्रमशः रोग घट्दो क्रममा रहे पनि बागमती र मधेश प्रदेशका केही जिल्लामा रोग फैलिरहेको विभागले जनाएको छ। विभाग तथ्यांकअनुसार चैतदेखि साउनसम्म देशभरि १३ लाख ५ हजार ३६१ पशुमा लम्पी स्किन रोग लागेको छ। जसमध्ये १० लाख ८२ हजार १५९ पशु निको भएका छन् भने १ लाख ७५ हजार ५ सय ५३ पशु संक्रमित छन्।
हाल संक्रमित पशुमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ६२ हजार ८ सय ९३ र त्यसपछि मधेश प्रदेशमा ३२ हजार १ सय ८३ रहेको विभागले जनाएको छ। अहिले गण्डकी प्रदेशमा सबैभन्दा कम १० हजार ७ सय २१ पशु सक्रिय संक्रमित रहेको विभागका सूचना अधिकारी चन्द्र ढकाल बताउँछन्।
यो वर्ष लम्पी स्किन रोग देखा परेदेखि साउनसम्म देशभरि ६ लाख ८६ हजार ४ सय ५० पशुमा खोप लागाएको उनको भनाइ छ। सरकारले १३ लाख ६९ हजार डोज खोप आयात गरेको छ। तर, कूल संक्रमित १३ लाख ५ हजार ३ सय ६१ पशुमध्ये ४७ हजार ६ सय ४९ पशु मरेका छन्।
उक्त रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका छन्। तर, पछिल्लोपटक लम्पी स्किन रोगबाट भएको क्षति विवरण संकलन भइरहेकाले क्षतिको आधिकारिक विवरण भन्न नसकिने विभागले जनाएको छ।
रोग नियन्त्रणका लागि के गर्दैछ सरकार ?
देशभरिका पशुमा रोग संक्रमण फैलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, सम्बद्ध सचिव तथा पदाधिकारीहरूको बैठक साउन १५ गते बसेको थियो।
उक्त बैठकले लम्पी स्किन रोग नियन्त्रण गर्न छिमेकी मुलुकहरूमा अवलम्बन गरिएका अनुभवहरूलाई आत्मसात् गर्दै लम्पी स्किन रोगलगायतका अन्य सिमाविहीन पशुपन्छीका रोग नियन्त्रण गर्न सतर्कता अपनाई पूर्वतयारीसहित प्रतिकार्य योजना कार्यान्वयन गर्ने, विश्व पशु स्वास्थ्य संगठनले लम्पी स्किन रोकथाम एवं नियन्त्रणका लागि सिफारिस गरेका तथा छिमेकी मुलुकमा समेत प्रयोग गरिएका खोप प्रयोगमा ल्याउने निर्णय गरेको छ।
त्यस्तै लम्पी स्किन रोगको दीर्घकालीन नियन्त्रण गर्न स्वदेशमै खोप उत्पादन गर्न आवश्यक तयारी गर्ने तथा रोगबाट प्रभावित किसानहरूलाई राहत सुविधा उपलब्ध गराउने निर्णय गरेको सूचना अधिकारी ढकाल बताउँछन्।
उक्त निर्णयअनुसार लम्पी स्किन रोग नियन्त्रणसम्बन्धी कार्ययोजना तयार गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिमा पेस गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रभावित किसानलाई राहत प्रदान गर्नेसम्बन्धी मापदण्ड तयारी क्रममा छ। त्यसैगरी नेपालमा नै खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न देश तथा दातृ निकायसँग समन्वय गर्ने योजना मन्त्रालयको छ।
कृषि अनुसन्धान परिषद्लगायत अन्य क्षेत्रका विज्ञ प्राविधिकसँगको छलफलबाट पशु सेवा विभागले छिमेकी देशमा लम्पी स्किन रोग नियन्त्रणका लागि प्रयोग गरिएको र विश्व पशु स्वास्थ्य संगठन (डब्लू एचओ) ले प्रकोप नियन्त्रणका लागि वैकल्पिक उपायका रूपमा सिफारिस गरेको ‘गोट पक्स’ खोप प्रयोग गर्न सकिने निष्कर्ष निकालेको छ।
योसँगै मन्त्रालयबाट विभागले ‘निलिङ स्ट्रेन’ खोपको अतिरिक्त गोट पक्स खोप आयात र प्रयोग गर्र्ने सहमति पाएको विभागका सूचना अधिकारी ढकाल बताउँछन्। सूचना अधिकारी ढकालका अनुसार रोग नियन्त्रणका लागि पशु सेवा विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मीहरू परिचालित छन्।
विभागमा छुट्टै कक्ष स्थापना
लम्पी स्किन रोग फैलिँदै गएपछि पशु सेवा विभागमा रोग नियन्त्रणका लागि छुट्टै नियन्त्रण कक्ष स्थापनासहित प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी प्रभावकारीरूपमा काम भइरहेको विभागको भनाइ छ। उक्त कक्षले सहसचिव नेतृत्वमा टोली परिचालन गरी रोग नियन्त्रण गर्ने अभियान नै चलाएको हो।
टोलीलले रोग फैलिएको क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि प्रदेशसँग समन्वय गरी प्राविधिक टोली परिचालन गरेको छ।
साथै, अन्य सरकारी निकाय, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मी लगायतका सरोकारवालासँग समन्वय गरी रोग रोकथाम तथा नियन्त्रणका उपायहरू अवलम्बन गरिएको विभागले जनाएको छ।
यसरी भइरहेको छ सूचना प्रवाह
लम्पी स्किन रोग रोकथाम तथा उपचारमा खटिने पशु स्वास्थ्यकर्मीहरूलाई विभागले प्राथमिक उपचार जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरेको छ। रोग उपचार विधि र यसबारे बारम्बार सोधिने प्रश्नउत्तर संगालो तयार गरी सरोकारवालालाई जानकारी गराएको छ। प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी नियमितरूपमा समन्वय गरी रिपोर्टिङ हुने व्यवस्था छ।
प्रदेशहरूबाट अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिएकोमा संघीय निकायबाट अनुगमन, प्राविधिक पृष्ठपोषणलगायत आवश्यकतानुसार टेवा प्रदान गरेको सूचना अधिकारी ढकाल बताउँछन्। ‘संघले स्थानीय र प्रदेश सरकारले पनि रोग नियन्त्रणमा काम गर्दैछन्, हामीले संघबाट आवश्यक सहयोग उपलब्ध गराएका छौं’ उनले भने।
लम्पी स्किन गाईभैंसीमा भाइरसबाट लाग्ने संक्रामक रोग हो। यो रोग लामखुट्टे, डाँस, भसुना, किर्नालगायतका किराको टोकाइबाट र संक्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा सर्ने गर्दछ। रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खारगाँठाहरू देखिने, न्याल, सिंगान बग्ने, चिप्रा र कचेरा लाग्ने, खुट्टा र जोर्नी सुन्निनेजस्ता लक्षणहरू देखिन्छन्।