काठमाडौं। मनसुनका कारण करिब तीन महिना स्थगित पोखराको ‘हट एयर बेलुन’ आगामी सेप्टेम्बर १ बाट पुनः सुचारु हुने भएको छ।
हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो। पछिल्लो समय साहसिक पर्यटनका पारखीको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बादेले बताए।
करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल, पूर्णआकारको फेवाताल, पुम्दिकोट महादेव, सराङकोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यकाआसपास सुन्दर दृश्यावलोकन गर्न सकिने छ।
विगतमा एकमात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुईवटा बेलुन उडाउने छ। अमेरिका र भियतनामका दुई पाइलटले बेलुन उडाउनेछन्।
बादेका अनुसार पामेबाट हट एयर बेलुन उडान हुने बादेले जानकारी दिए। बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइने छ। बिहान ५ देखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुनेछ।
कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बेलुनमा उड्न सक्नेछन्।
कति लाग्छ शुल्क?
हट एयर बेलुनमा उड्न नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने छ। यस्तै सार्क मुलुकका पर्यटकका लागि १ सय डलर र अन्य मुलुककालाई १ सय ३० अमेरिकी डलर शुल्क लाग्छ।
शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म दुइतर्फी यातायात सुविधा र प्रमाणपत्रसमेत पाइन्छ। नेपाली पर्यटकले रिजर्भ गरी निजी उडान गर्न चाहे आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ तोकिएको छ।
के ख्याल गर्ने?
हट एयर बेलुनमा उड्ने सोच बनाएर जाँदा बिहानपख केही चिसो हुने हुनाले न्यानो कपडा साथमै लिएर जाँदा राम्रो हुन्छ। यसबाहेक हिल जुत्ता वा अन्य जुत्ताभन्दा स्पोट्र्स जुत्ता लगाउँदा उडानका क्रममा सहज हुनेछ।