काठमाडौं। पछिल्ला केही दिनयता उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाबीच एक प्रकारको ‘लडाइँ’ चलिरहेको छ। एक अर्काबीच विज्ञप्तिबाजी गर्नेदेखि कारबाहीका लागि स्पष्टीकरण सोध्ने काम निरन्तर चलिरहेको छ।
प्राधिकरणका महानिर्देशक अधिकारी क्याप्टेन थापालाई कारबाही गरी छाड्ने ‘मनस्थिति’ मा देखिन्छन् भने अध्यक्ष थापा सकेसम्म महानिर्देशक नै ‘हटाउने खेल’ मा लागिरहेका छन्। दुई व्यक्तिको लडाइँका कारण अहिले वायुसेवा सञ्चालकहरूले प्रत्यक्ष वा अप्रत्यक्ष समस्या भोगिरहेका छन्।
दुई प्रमुखबीचको लडाइँको पछिल्लो उदाहरण हो– सोमबारबाट काठमाडौंमा सुरु भएको एभिएसन सेफ्टी क्याम्पेन। काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु भएको क्याम्पेनमा विशेषगरी हवाई उडान सुरक्षामा अपनाउने सेफ्टीबारे छलफल हुनेछ।
एक दशकदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको सेफ्टी क्याम्पेनमा संयुक्त राष्ट्र संघअन्तर्गत वल्र्ड फुड प्रोग्राम (डब्लुएफपी) क्षेत्रीय कार्यालय युएईको प्राविधिक सहयोगमा वायुसेवा सञ्चालक संघले सञ्चालन गर्दै आएको छ।
यो क्याम्पेनमा वायुसेवा कम्पनीका सेफ्टी विभाग प्रमुखसहित पदाधिकारीहरू आबद्ध हुँदै आएका छन्। एभिएसन क्षेत्रमा महत्वपूर्ण मानिने क्याम्पेनमा उड्डयन प्राधिकरणबाट कुनै पनि अधिकारीहरूको उपस्थिति छैन।
खासगरी यो क्याम्पेनमा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) हरूको पनि सक्रिय सहभागिता हुनुपर्ने हो। तर, प्राधिकरणबाट कुनै पनि अधिकारीको यो क्याम्पेनमा सहभागिता नजनाएको वायुसेवा सञ्चालक संघले जनाएको छ।
एक दशकदेखि हुँदै आएको यो कार्यक्रमलाई प्राधिकरणले बजेट पनि दिँदै आएको थियो। तर, यसपालि अधिकारी र थापाको ‘लडाइँ’ का कारण कार्यक्रमका लागि बजेट नदिइएको सम्बद्ध एक अधिकारीले जानकारी दिए।
उड्डयन प्राधिकरणले विशेष चासोसाथ सक्रिय सहभागिता जनाउनुपर्नेमा उल्टै कुनै पनि प्रतिनिधि नपठाएर राम्रो नगरेको वायुसेवा सञ्चालक संघका एक पदाधिकारीले बताए।
‘प्राधिकरणले संस्थागतभन्दा विषयलाई विशेष प्राथमिकता दिनुपर्छ,’ ती पदाधिकारीले क्यापिटल नेपालसँग भने, ‘यसमा महानिर्देशक चुक्नुभयो। सेफ्टी भनेको निजी क्षेत्रले मात्र चाहेर हुँदैन। सरकारी निकाय पनि गम्भीर भएर लाग्नुपर्ने बेला संघले आयोजना गरेको तालिममै सहभागिता नजनाएर बाइपास गर्नु गलत हो।’
यतिमात्र होइन, सम्पूर्ण निजी क्षेत्रका प्रतिनिधि सहभागी हुँदा नेपाल वायुसेवा निगमका प्रतिनिधिसमेत सहभागी भएका छैनन्। ‘हामीले निगमलाई पनि क्याम्पेनमा भाग लिन निमन्त्रणा पठाएका थियौं,’ संघका एक पदाधिकारीले भने, ‘उहाँहरूको उपस्थिति देखिएन।’
पर्यटनमन्त्रीले समेत गरे ‘बाइपास’
मुलुकको हवाई उड्डयन क्षेत्रको सुरक्षा विषयलाई लिएर सञ्चालन भएको क्याम्पेनलाई पर्यटन मन्त्रालयले विशेष प्राथमिकतासाथ हेरिनुपर्ने हो। तर, पर्यटनमन्त्री सुदन किराँतीले समेत अन्तिम समयमा क्याम्पेनमा सहभागी भएनन्।
उद्घाटन सत्रको प्रमुख अतिथिका रूपमा मन्त्री किराँतीको नाम राखेर निम्तो पठाए पनि अन्तिम समयमा उपस्थिति नहुने जानकारी पाएपछि सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा कार्यक्रम उद्घाटन गरिएको थियो।
हवाई सुरक्षा विषयमा चर्को भाषण गरे पनि कार्यान्वयन गर्ने व्यक्तिहरू, मन्त्री र महानिर्देशकले बाइपास गरेको पहिलो घटना भएको कार्यक्रममा सहभागीको भनाइ छ।
अध्यक्ष थापा पनि आएनन्
पर्यटनमन्त्री किराँती, महानिर्देशक अधिकारीमात्र होइन, संघ अध्यक्ष क्याप्टेन थापासमेत कार्यक्रममा उपस्थित भएनन्। निम्तोपत्रमा अध्यक्ष थापाको नाम राखिए पनि विशेष कारण देखाउँदै उनी कार्यक्रममा उपस्थित भएनन्।
अध्यक्ष नआउने जानकारी संघका पदाधिकारीले पनि आइतबार रातिमात्र पाएका थिए। जसका कारण सोमबार भएको उद्घाटन कार्यक्रम उपाध्यक्ष अनोज रिमालको सभापतित्वमा सम्पन्न भएको थियो।
महानिर्देशक अधिकारी र अध्यक्ष थापाको लडाइँका कारण सिंगो उड्डयन क्षेत्रमै नकारात्मक सन्देश गएकाले तत्कालै समाधान निकाल्न केही पदाधिकारी लागिपरेका छन्।