काठमाडौं। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा घर जग्गा कारोबार बढेको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ साउनमा ५ हजार ४ सय २९ कारोबार बढेको हो।
चालू आर्थिक वर्षको साउनमा ३९ हजार २ सय ६३ घरजग्गा किनबेच भएको छ। गत आर्थिक वर्ष यही महिनामा ३३ हजार ८ सय ३४ मात्र घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
चालू आर्थिक वर्ष साउनमा सुनसरीस्थित भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाबाट २ हजार २ सय ५७ कारोबार भएको थियो। यस्तै सर्लाही मलंगवा र बलरा, सिर्दिवास, चन्द्रौटा र बुटवल कार्यालयबाट भने कुनै पनि किनबेच हुन सकेन।
त्यस्तै २०७८ साउनमा ७५ हजार ४ सय १७ र २०७७ साउनमा ३७ हजार ९ सय ७० वटा किनबेच भएको थियो।
अघिल्लो वर्ष साउनमा भन्दा बढे पनि कारोबार असारमा भन्दा घटेको छ। विभाग तथ्याङ्कअनुसार गत असारमा ४४ हजार ४ सय ८५ घरजग्गा कारोबार भएको थियो।
साउन र भदौ घरजग्गाका लागि अफसिजन भएकाले कारोबारमा गिरावट आएको नेपाल जग्गा तथा आवास विकास महासघंका अध्यक्ष भेषराज लोहनीले बताए।
‘सामान्यतया असार र साउन भनेको रियलस्टेट व्यवसायका लागि अफ सिजन हो। मान्छेहरू यो सिजनमा खेतीपातीमा व्यस्त हुन्छन्। हिउँद लागेपछि बल्ल घर, जग्गा कारोबार राम्रो हुन्छ,’ उनले भने।
चालू आर्थिक वर्ष जग्गा कित्ताकाट पनि बढेको छ। यस महिना ३५ हजार २ सय ९१ जग्गाको कित्ताकाट भई ७७ हजार ६८ कित्ता पुगेको छ। सरकारले भर्खरै कित्ताकाट खुलाएको छ। कित्ताकाट खुला भएकाले भदौमा जग्गा कारोबार अझ देखिएको छ।
गत आर्थिक वर्ष यही महिनामा ८ हजार ६ सय ८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता पुगेको थियो। त्यसैगरी असार महिनाको तुलनामा भने कित्ताकाट घटेको छ। असारमा ४२ हजार ४ सय ९४ कित्ताकाट भई १ लाख ३६ कित्ता कायम भएको थियो।
गत आर्थिक वर्ष साउनमा भन्दा यो वर्ष राजस्वमा वद्धि भएको छ। चालू आर्थिक वर्ष साउनमा जग्गा कारोबारबाट २१ करोड ६६ लाख ७९ हजार २ सय ५६ रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष २०७०/८० मा २० करोड १६ लाख ९७ हजार ६० रुपैयाँ राजस्व संकलन भएको थियो।
त्यस्तै गत असारमा ३० करोड १८ लाख ६९ हजार ३८ रुपैयाँ राजस्व संकलन भएको थियो।