काठमाडौं। सिमेन्टमा जस्तै स्टिल उद्योगमा पनि बैंक तथा वित्तीय संस्थाहरूको लगानी बढेको छ। गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म स्टिल प्लान्ट लगाउन बैंकहरूको ऋण लगानी ७ प्रतिशत बढेको हो।
एक वर्षको अवधिमा स्टिल प्लान्ट लगाउन उद्योगीले बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ५४ करोड १९ लाख रुपैयाँ थप ऋण लिएका छन्। गत असारसम्म बैंक तथा वित्तीय संस्थाको स्टिल उद्योगमा १ खर्ब ३० अर्ब ४२ करोड ४९ लाख रुपैयाँ ऋण लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष ०७८/७९ मा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २१ अर्ब ८८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यस्तै आर्थिक वर्ष ०७७/७८ मा यस्तो कर्जा प्रवाह १ खर्ब २० अर्ब १५ करोड ५६ लाख रुपैयाँ थियो।
३ वर्षको अवस्था हेर्दा बैंकले स्टिल उद्योगमा लगानी बढाइरहेका छन्। स्टिल उत्पादनमा मुलुक आत्मनिर्भर भएको छ। सरकारको नीतिअनुसार स्वदेशमै कच्चा वस्तु बिलेट उत्पादन गर्न मेल्टिङ प्लान्ट स्थापना गर्न उद्योगीले दुई वर्षयता अर्बौं रुपैयाँ लगानी थपेका छन्।
स्वदेशमै बिलेट उत्पादन भएपछि डन्डीको लागत कम हुन गएको छ। अर्थतन्त्र शिथिल भएका कारण स्टिलको मागमा कमी आएको छ। शंकर ग्रुप, शौरभ ग्रुप, मुरारका अर्गनाइजेसनलगायत ठूला व्यवसायिक घरनाले स्वदेशमै बिलेट उत्पादन गर्न मेल्टिङ प्लान्ट लगाइसकेका छन्।
यस्तै केही लगाउने तयारीमा छन्। सरकारको नीतिपछि स्पान्ज तथा फलामका कबाड (पत्रु) गलाएर ब्लेड बनाउने उद्योगलाई फाइदा पुगेको छ।
अहिले मुुलुकमा साना र ठूला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योग छन्। तीमध्ये आधा दर्जन बढी उद्योगले स्पान्ज आइरनबाट पगाली डन्डी उत्पादन गर्दै आएका छन्। ज्योति ग्रुप, पञ्चकन्या ग्रुप र शाःख ग्रुपलगायत उद्योगले बिलेट भारतबाट आयात गर्दै आएका छन्।
बैंक तथा वित्तीय संस्थाले खाद्य उत्पादन, कृषि उत्पादन, सिमेन्ट, स्टिल, प्लास्टिक, रबर टायरलगायतका विभिन्न वस्तु उत्पादनमा ७ खर्ब ५२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँबराबर कर्जा प्रवाह गरेका हुन्।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८.३ प्रतिशत अर्थात् ५७ अर्ब ७२ करोड ४ लाख रुपैयाँले बढी हो। आर्थिक वर्ष ०७८/७९ मा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ९५ अर्ब ९ करोड ३६ लाख रुपैयाँबराबर कर्जा प्रवाह गरेका थिए।