काठमाडौं। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएको अभिव्यक्ति खेदजनक र भर्त्सनायोग्य रहेको बताएका छन्।
प्रसाईंले गत साता एक अन्तरवार्तामा ‘मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको’ लगायतका अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर एक प्रमुख कोइरालाले विज्ञप्ति जारी गर्दै प्रसाईंको अभिव्यक्ति खेदजनक र भर्त्सनायोग्य रहेको बताएका हुन्।
‘नेपालमा सदियौंदेखि विभिन्न जातजाति बसोबास गर्दै आएका छन्। एउटा जातिले अर्को जातिको धर्म, संस्कृति र परम्परालाई सम्मान गर्नु नेपाली समाजको विशेषता नै हो भन्दा अत्युक्ति नहोला,’ कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै जातिका आआफ्नै रितिरिवाज, धर्म र संस्कृति रहेको छ। देश विकासमा सबै जातिको भूमिका रहँदै आएको छ।’ कोइरालाले त्यसैमध्येको मारवाडी समुदाय पनि एक भएको बताएका छन्।
नेपालको औद्योगिक र व्यावसायिक विकासमा मारवाडी समुदायको योगदान महत्वपूर्ण रहँदै आएको उनको भनाइ छ। औद्योगिक र व्यावसायिक लगानीमार्फत रोजगारी सिर्जनासँगै देशको अर्थतन्त्रलाई चलायमान बनाउनसमेत यो समुदायको योगदान अतुलनीय रहँदै आएको उनले उल्लेख गरेका छन्।
‘मारवाडी समुदायले आर्थिक क्षेत्रमा मात्रै नभएर सामाजिक र राजनैतिक क्षेत्रमा पनि योगदान दिँदै आएको छ। देशको आर्थिक र सामाजिक क्षेत्रमा योगदान दिँदै आएको मारवाडी समुदायलाई लक्षित गरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईले दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु,’ विज्ञप्तिमा छ, ‘प्रसाईंको अभिव्यक्तिले विराटनगरका मात्रै नभएर देशका विभिन्न ठाउँमा छरिएर बसोबास गर्ने समग्र मारवाडी समुदायमाथि आघात पुग्नुका साथै स्वाभिमानमा नै प्रहार भएको मैले महसुस गरेको छु।’
उनले मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस बनाएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण र समाजमा द्वेष फैलाउने गरी प्रसाईंले दिएको सार्वजनिक अभिव्यक्ति अत्यन्तै खेदजनक र भर्त्सनायोग्य रहेको बताएका छन्। कसैको व्यक्तिगत विषयलाई लिएर सम्पूर्ण समुदायलाई नै चोट पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय रहेको उनको भनाइ छ।
प्रमुख कोइरालाले सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न सम्बन्धित सबैलाई अनुरोधसमेत गरेका छन्।