काठमाडौं। रोजगारी सिलसिलामा लामो समयदेखि विदेश बस्दै आएका चार युवाको सामूहिक लगानीमा राजधानीको दरबारमार्गस्थित दरबार मलमा जापानी रेस्टुरेन्ट ‘यासुमी’ सञ्चालनमा आएको छ।
मुलुकभित्रै लगानी गरेर रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ आइतबारबाट यासुमी सञ्चालनमा आएको हो। विदेशमा देखेको र सिकेको सीप आफ्नै जन्मभूमिमा कार्यान्वयन गर्न बेलायत बस्ने प्रदीप महर्जन, जापान बस्ने प्रनिष महर्जन, र अस्ट्रेलिया बस्ने रश्मी महर्जनसँग यहीँ बस्ने अमन महर्जन मिलेर रेस्टुरेन्ट खोलेका हुन्। अमन १२ वर्ष जापान बसेर केही वर्षअघि फर्केका थिए।
जापान बस्दा अमनले त्यहाँका रेस्टुरेन्टमा काम गरेका थिए। लामो समयदेखि नै चिनजान भएको र नेपालमा केही नयाँ काम गर्नुपर्छ भन्ने सोच आइरहेको बेला अमनलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनाएर जापानी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।
रेस्टुरेन्टभित्र छिर्नेबित्तिकै जापानको झल्को दिने खालका संरचना छन्। त्यहाँ राखिएको बत्ती होस् वा खाना खाने ठाउँको डिजाइनले जापानको कुनै पार्कमा बसेको जस्तै आभाष दिन खोजिएको सिइओ महर्जनको भनाइ छ।
पछिल्लो समय धेरै नेपाली जापान आवातजावत गर्ने र जापानी पनि धेरै नेपाल आउने भएकाले त्यहाँका खाना पारखी लक्ष्य गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक प्रदीपको भनाइ छ।
यासुमी भनेको जापानी भाषामा ‘रिल्याक्स’ अर्थात बिदा मनाउन जाने ठाउँ हो। २ हजार १ सय वर्गफिट क्षेत्रफलको उक्त रेस्टुरेन्टमा आकर्षणका रूपमा ‘क्वी फिस’ राखिएको छ। बालबालिकादेखि ठूलालाई समेत पानीमा माछासँग खेल्दै खाना र खाजाको परिकारको मज्जा लिन पाइने उनले बताए।
जापानको आधिकारिक खाना नै यासुमी रेस्टुरेन्टमा पाइन्छ। सी फुडदेखि रेस्टुरेन्टमा प्रयोग हुने सबै खानाका परिकार जापानबाटै ल्याउने उनले बताए।
पछिल्लो समय नेपालमा जापानी रेस्टुरेन्ट खुल्ने क्रमले तीव्र्रता पाइरहेको र बजारमा माग पनि राम्रो भएकाले आफूहरूको रोजाइ पनि यसैमा भएको बताउँछन्। अमनसँग जापानी परिकारको राम्रो ज्ञान भएकाले पनि त्यसलाई सदुपयोग गरिएको उनी बताउँछन्।
विदेशमा कमाएको केही रकमले नेपालमा लगानी गर्दा रोजगारी सिर्जना हुने भएकाले पनि थोरै–थोरै रकम लगानी गरेर रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनीहरूको भनाइ छ। आइतबार सफ्ट लन्च गरेको रेस्टुरेन्ट दुई साताभित्र पूर्णसञ्चालनमा ल्याउने उनीहरूको तयारी छ।
करिब ३ करोड लगानी भएको रेस्टुरेन्टमा एकसाथ ८० भन्दा बढीले खाना र खाजा खान सक्नेछन्। रेस्टुरेन्टमा जापानी ‘भाइब’ दिने खालका इन्टेरियर प्रयोग गरिएको छ।
सुसिदेखि सी फुड रेस्टुरेन्टको मुख्य मेनु हो। मेनुमा न्यूनतम २ सयदेखि अधिकतम १५ हजार रुपैयाँसम्मका परिकार पाइन्छन्।
यो रेस्टुरेन्ट पूर्णसञ्चालनमा आएपछि एक वर्षपछि फ्रेन्चाइजीका रूपमा दुईरतीन ठाउँमा खोल्ने योजना उनीहरूले बनाएका छन्।