काठमाडौं। स्मार्ट कार्ड सकिएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ठप्प भएको छ।
करिब ५०/६० हजारथान मात्र स्मार्ट कार्ड बाँकी रहेकाले नियमित छपाइ रोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले जानकारी दिए।
‘थोरैमात्र कार्ड बाँकी रहेकाले नियमित छपाइ बन्द गरेका छौं। विदेशमा पढ्न जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जान लागेका श्रमिक, मिसनमा जाने सेना/प्रहरी लगायत अत्यावश्यक हुनेका लागि बाँकी कार्ड होल्ड गरेका छौं,’ उनले भने।
लाइसेन्स नयाँ बनाउन (फर्स्ट प्रिन्ट) गर्न आउनेहरू नै देनिक ३ सयदेखि ३ सय ५० हाराहारी रहेको पनेरुले जानकारी दिए।
‘लाइसेन्सको सबै प्रक्रिया पुर्याउने र नवीकरणका लागि आवेदन दिने दैनिक करिब ९ हजार छन्। हामीले नियमित हुँदा दैनिक ४ हजारथान छाप्थ्यौं,’ उनले भने।
लाइसेन्स मागको तुलनामा छपाइ आधाभन्दा पनि कम भएकाले ‘ब्याक लग’ बढिरहेको छ। सेवाग्राहीले लाइसेन्सका लागि राजस्व तिरेको वर्ष दिनभन्दा लामो समय लाइसेन्स पर्खिन बाध्य छन्।
विभागले २०७९ माघमा १२ लाखथान कार्डको ठेक्का लगाएको थियो। सम्झौताअनुसार तीन महिनामा कार्ड आपूर्ति गर्नुपर्नेमा ६ महिना पुग्दासम्म ठेकेदारले कार्ड उपलब्ध गराएको छैन।
‘लाइसेन्सको ‘पर्सनलाइज’ गर्नुपर्ने भएकाले केही ढिलाइ भएको पनेरुले बताए। ‘लाइसेन्सको प्रिन्टर भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) को हो। अहिले १२ लाख लाइसेन्सको ठेक्का जर्मन कम्पनी म्युहलबौयर आइडी सर्भिस जिएमबिएचले पाएको छ,’ उनले भने, ‘भारतीय प्रिन्टरमा जर्मन कार्ड फिट गराउन पर्सनलाइज गर्नुपर्छ। त्यसको लागि हामीले १ सय स्याम्पल जर्मन स्मार्ट कार्ड मद्रास प्रिन्टर्सलाई पठाइसकेका छौं।’
नियमित लाइसेन्स छपाइका लागि दुईदेखि तीन महिना लाग्ने उनले जानकारी दिए।
प्रिन्टरको ठेक्का नै लाग्दैन
लाइसेन्स छपाइ ढिलो हुँदा हाल करिब ७ लाख चालक रसिदका भरमा सवारी चलाउन बाध्य छन्। लाइसेन्स छपाइमा भएको ढिलासुस्ती हटाउन सरकारले चालेको रणनीति लगातार असफल भइरहेको छ।
यातायात व्यवस्था विभागले लाइसेन्स प्रिन्टर खरिद गर्न आह्वान गरेको बोलपत्र तेस्रोपटक पनि असफल बनेको छ। प्रिन्टर खरिदका लागि विभागले दुईपटक राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्दा दुईपटक नै एउटा पनि आवेदन परेन।
दुईपटक आह्वान गरिएको बोलपत्रमा कुनै पनि आवेदन नपरेपछि विभागले २०७९ चैत ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।
यसमा चार कम्पनीको आवेदन परे पनि सबै आवेदन अस्वीकृत भएको पनेरुले जानकारी दिए।
‘चारवटै कम्पनी प्रविधिक प्रस्तावमा अस्वीकृत भए,’ पनेरुले क्यापिटल नेपालसँग भने, ‘हामीले दिएको स्पेसिफिकेसनअनुसार कुनै कम्पनीको प्रस्ताव मिलेन।’
प्रिन्टरका लागि विभागले चौथो बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। हाल विभागमा महानिर्देशक नभएका कारण बोलपत्र प्रक्रिया रोकिएको हो।
एक वर्षमा चार महानिर्देशक
२०७९ चैत २६ मा नारायणप्रसाद भट्टराईले यातायात व्यवस्था विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाले। विभाग आएको चार महिना नबित्दै साउन ७ मा उनको गृह मन्त्रालय सरुवा भयो। हाल विभाग महार्निर्देशकविहीन छ। यसले गर्दा विभागको ठेक्का, ऐनको मस्यौदा बनाउने लगायत काम प्रभावित भएको छ।
उनीभन्दा अघिका महानिर्देशक तुलसीनाथ गौतम त विभागमा एक महिना पनि टिक्न सकेनन्। २०७० माघ २५ मा विभाग आएका गौतमले जम्माजम्मी १९ दिन महानिर्देशकको जिम्मेवारी सम्हाले।
गौतमअघिका महानिर्देशक डा. टोकराज पाण्डे पाँच महिना र उनीभन्दा अघिका सुरेश राउत जम्मा दुई महिनामात्र टिक्न सके। योसँगै विभागले एक वर्षभित्रै चार महानिर्देशक पाएको छ।