काठमाडौं। सिमेन्ट उत्पादनमा बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी बढ्दै गएको छ। गत आर्थिक वर्ष २०७९/८० मा बैंकको सिमेन्टमा लगानी ३.८ प्रतिशत बढेर १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा मात्र बैंकले सिमेन्ट उद्योगमा थप ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।
अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा बैंक तथा वित्तीय संस्थाले सिमेन्टमा १ खर्ब २५ अर्ब ४० करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यस्तै आर्थिक वर्ष ०७७/७८ मा यस्तो कर्जा प्रवाह १ खर्ब १७ अर्ब ६९ करोड ८६ लाख रुपैयाँ थियो।
पछिल्लो तीन वर्षको अवस्था हेर्दा सिमेन्टमा बैंकको लगानी सुस्त गतिमा बढेको देखिन्छ। नेपालमा चिनियाँ लगानीका होङ्सी सिमेन्ट र ह्वासिन सिमेन्ट उद्योग सञ्चालनमा छन्। ठूला लगानीका दुई ठूला उद्योग सञ्चालनमा आएपछि बजारमा सिमेन्टको भाउ पनि घटेको छ। सूर्य तारालगायत आधा दर्जन उद्योग पाइपलाइनमा छन्।
अहिले अधिकांश ठूला व्यावसायिक घरानाका सिमेन्ट उद्योग छन्। चौधरी ग्रुप, मुरारका अर्गनाइजेसन, विशाल ग्रुप, त्रिवेणी ग्रुप, शंकर ग्रुप, सौरभ ग्रुप, गोल्छा ग्रुप र लोमस ग्रुपलगायत अन्य घरना सिमेन्टमा सक्रिय छन्।
लगानी बढेसँगै नेपालबाट सिमेन्ट निर्यात पनि सुरु भएको छ। गत आर्थिक वर्षमा नेपालबाट ७८ करोड रुपैयाँबराबरको सिमेन्ट निर्यात भएको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार रुपैयाँबराबरका १० लाख ४ हजार २३ टन सिमेन्ट निर्यात गरेका छन्।
अघिल्लो आर्थिक वर्षमा ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँबराबरको ६ लाख ७ हजार ७३ टन सिमेन्ट भारतमा निर्यात भएको छ। त्यस वर्ष ४२ करोड ३ लाख ५५ हजार रुपैयाँबरारबरका ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको छ।
पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट र बालाजी सिमेन्ट गरी तीन उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन्। साथै, अन्य उद्योग निर्यात तयारीमा छन्। ठूला उद्योगले कच्चावस्तु क्लिङकर पनि उत्पादन गरेका छन्।
गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्रान्ड भारततर्फ निर्यात सुरु भएको थियो। असोज ३१ गतेदेखि अर्घाखाँची र जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्रान्डमा पिपिसी सिमेन्ट निर्यात सुरु गरेका थिए।
सरकारले सिमेन्ट र स्टीललगायत वस्तु निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक १० करोड रुपैयाँभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका हुन्।
नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणपत्र लिनुपर्नेछ। नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक करिब २ करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ।
नेपालमा ६० सिमेन्ट उद्योग र २० वटा क्लिङकर उद्योग सञ्चालनमा छन्। पछिल्लो समय माग कम भएपछि सिमेन्ट उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन भइरहेका छन्। केही वर्षयता सिमेन्ट माग कम हुन थालेपछि उद्योगको व्यापारमासमेत गिरावट आएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।