काठमाडौं। अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ।
नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन्। आयोजना निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्ने पनि उत्तिकै छन्।
सरकारले विकास निर्माणका कामबाट आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने र नेपाली नागरिकको विकास प्रतिको भोकलाई सम्बोधन गर्ने लक्ष्यका साथ सुरु गरेका एकाधबाहेकका अधिकांश ठूला आयोजना समयमा निर्माण सम्पन्न भएका छैनन्।
केही आयोजना निर्माण सम्पन्न भएर पनि अपेक्षितरूपमा सञ्चालन हुन सकेका छैनन्। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अपेक्षित लाभ प्रदान गरेपनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर पनि लाभ प्राप्त हुन सकेको छैन।
यही मेसोमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाले उल्लेखनीय प्रगति गरेको छ।
आयोजना प्रमुख मित्र बरालका अनुसार कूल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म आठ किलोमिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको छ।
सुरुङ निर्माणमा हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ। नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि उक्त आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ।
यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो।
पहाडी भूभाग बढी भएको नेपालमा विकास निर्माणको काम अगाडि बढाउन अब टिबिएम प्रभावकारी उपकरणका रूपमा स्थापित भएको छ। यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ।
सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काम सुरु हुन सकेको छैन।
भेरी–बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत् गृह निर्माण सकिएको छैन।
ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन्।
सुनकोशी मरिण डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गका केही भाग प्रभावित हुनेछ।
हाल सञ्चालनमा रहेको राजमार्गलाई ९ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ। यस्तै बाँधस्थल निर्माणका लागि निर्माण व्यवसायी परिचालित भइसकेका छन्।
वर्षाका कारण काम सुरु हुन सकेको छैन। नदीमा पानीको सतह घटन थालेपछि बाँधस्थल निर्माण सुरु गर्ने तयारीमा आयोजना छ।
यस्तै, विद्युत गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ। यस्तै, प्रसारण लाइन निर्माणका कारण प्रभावित हुने स्थानमा वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न हुने चरणमा छ। यसका लागि निर्माण व्यवसायी परिचालन गर्ने तयारी भइरहेको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त आयोजनाको सुरुङ निर्माण भएको करिब ११ महिनामा नै आठ किमी बराबर सुरुङ निर्माण हुन आफैंमा महत्वपूर्ण उपलब्धि हो।
गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो। टिबिएमको प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ।
गत जेठमा मात्रै उक्त आयोजनाको कूल १ हजार २ सय २४ मिटरबराबर सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले जानकारी दिए।
विश्वव्यापीरूपमा पनि यति छिट्टै यति धेरै सुरुङ निर्माण हुनु पनि आफैँमा रेकर्ड नै भएको जानकारी दिँदै उनले विश्व रेकर्डका लागि नाम लेखाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए।
उक्त आयोजनाबाट तराई–मधेसका कूल १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। टिबिएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको उल्लेख गरे।
चारवटै कामका लागि समानान्तररुपमा प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्दै उनले तोकिएको समयभन्दाअगावै सुरुङ निर्माण प्रक्रिया पूरा हुनेछ।
चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामुनि हाल सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि उक्त आयोजनालाई सबै प्रकारको साधन र स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तर, उक्त आयोजनामा स्रोत व्यवस्थापन हुन कठिनाइ भइरहेको छ। ऊर्जामन्त्री बस्नेतले उक्त आयोजनामा भुक्तानी समस्या देखिएकाले तत्काल समाधान गरिदिन यसअघि नै प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए।
राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोत अभाव नहुने प्रधानमन्त्री, ऊर्जामन्त्रीको प्रतिबद्धता छ।
यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण दुईपटक समस्या देखिएको थियो।
सुरुङ निर्माणका क्रममा एकपटक नौ दिन र एकपटक २६ दिन काम नै रोकिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले महाभारत पर्वत शृङ्खलामुनि निर्माण भइरहेकाले हाल कुनै पनि जटिलता उत्पन्न नभएको बताए।
सुनकोशी गाउँपालिका(७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी पथान्तरण गरिनेछ।
सुनकोशीको करीब ६७ क्युमेक पानीलाई सुरूङमार्फत सिन्धुली कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा पानी खसालिनेछ।
त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ। त्यस्तै उक्त आयोजनाबाट ३१ मेगावाटबराबर बिजुलीसमेत उत्पादन हुनेछ।
आयोजनाको सुरुङ निर्माण काम चीनको चाइना ओभरसिज इञ्जिनियरिङ गरिरहेको छ। बाँध निर्माणका लागि नेपालको रमण समूहसँग एक विदेशी ठेकेदार कम्पनीको संयुक्त उपक्रमले जिम्मा पाएको छ।