बागमती। बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ।
लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियानअन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार खोप अभियानअन्तर्गत चितवन जिल्लामा ९ हजार २५, दोलखामा २ सय ८४, भक्तपुरमा ९ सय २१, ललितपुरमा १ हजार ४ सय ३७, मकवानपुरमा ५ हजार ९ सय ५६ र धादिङमा ३ हजार ५ सय १० पशुमा लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ।
साथै सिन्धुलीमा २ हजार ४ सय ९०, रामेछापमा १ हजार ९ सय ४२, सिन्धुपाल्चोकमा १ हजार ८ सय ९९, काभ्रेपलाञ्चोकमा ६ हजार ७७, नुवाकोटमा ३ हजार ३ सय ७७ , तथा रसुवामा १ हजार १ सय ८८ पशुचौपायामा अर्थात गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्कीनविरुद्ध खोप लगाइएको हो।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशमा विगत एक वर्षमा लम्पी स्कीबाट ६ हजार २ सय ९१ गाईगोरु तथा बाच्छाबाच्छी मरेका छन् भने १ लाख १० हजार ४ सय ४० गाई गोरु तथा बाच्छाबाच्छी संक्रमित भएका छन्।
प्रदेशको आठ भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रमार्फत खोपकर्ता नियुक्त गरिएको थियो। जसअन्तर्गत १ हजार ४६ जना खोपकर्ताले १३ जिल्लामा लम्पी स्कीनविरुद्ध खोप लगाएका छन्।
अभियानअन्तर्गत खटिएका प्राविधिकले खोप लगाउनुका साथै पशुचौपायालाई कसरी स्वस्थ्य र सुरक्षित राख्ने विषयमा जानकरीसमेत गराउने गरेको उनले बताए।
प्रदेशमा अझै पनि १ लाख ५० हजारभन्दा बढी पशुचौपायालाई खोप लगाउनु बाँकी छ। मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे सप्ताहव्यापी खोप अभियान सकिए पनि खोप लगाउने अभियान भने जारी रहेको बताए।
नेपालमा २०७७ साल साउनमा मोरङका पशुचौपायामा उक्त रोगको संक्रमण देखिएको थियो।
लम्पी स्किन रोग संक्रमणबाट ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने दुग्ध उत्पादनमासमेत कमी आएको छ।
गाई गोरु तथा बाच्छाबाच्छीमा उक्त रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दुग्ध उत्पादन कम हुने, घाउँ खटिरा हुने, आँखा नाकबाट अत्यधिक मात्रमा सिगान बग्ने, लिम्फनोड सुनिने जस्ता लक्ष्य देखिने गरेका छन्।