काठमाडौं। नयाँ व्यवसाय सुरुवातमा मुख्य समस्या भनेकै बीउपुँजी, साझेदार–लगानी र बैंक कर्जा नै हो।
विश्वभरि सुरुवाती उद्यम/व्यवसाय (स्टार्टअप) औसतमा ९० प्रतिशतमात्रै सफल भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन्।
धेरै स्टार्टअपलाई व्यवसाय सुरु गर्दा बैंक तथा वित्तीय संस्थाबाट वा सरकारी र मिटरब्याजीबाट कर्जा लिनुपर्छ भन्ने हुन्छ। तर, अन्तर्राष्ट्रिय अभ्यास हेर्दा स्टार्टअपलाई सघाउने अन्य वैकल्किप बाटो खुलिसकेको पाइन्छ।
विदेशी स्टार्टअप व्यवसायले बैंकबाट कर्जा लिएरभन्दा ‘एन्जल इन्भेस्टर’ मार्फत लगानी जुटाइरहेका हुन्छन्। यस्ता कार्यमा विदेशी नियामक निकायले कर्जाभन्दा पुँजी नै जुटाउन सहजीकरण प्राथमिकतामा राख्छन्।
तर, नेपालमा स्टार्टअपलाई पुँजी बजारमार्फत सहयोग गर्ने नीति अहिलेसम्म छैन। अन्तर्राष्ट्रिय जगतमै अधिकांश स्टार्टअप लगानी डुब्छ भन्ने हुँदा पनि यो क्षेत्रलाई सघाउने प्रयत्नमा नेपाल धितोपत्र बोर्डले काम अघि बढाएको छ।
बोर्डले यस्ता उद्यम-व्यवसायलाई लगानी जुटाउन बैंक तथा वित्तीय संस्था, सहकारी वा मिटरब्याजीसम्म नपुगोस् भनेर एन्जल इन्भेस्टर खोज्ने नयाँ नीति बनाएको हो।
बोर्डले यस्तो चलन हटाउन ‘साना तथा मझौला संगठित संस्था धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ तयार गरिसकेको छ। उक्त नियमावली बोर्ड सञ्चालक समितिले पास गरेर अर्थ मन्त्रालय हुँदै कानुन मन्त्रालय पुगेको छ। कानुन मन्त्रालयबाट पास भएर मन्त्रिपरिषद बैठकले पास गरे नियमावली लागू हुन्छ।
स्टार्टअप व्यवसाय सुरु गर्न वा विस्तारका लागि स्रोत जुटाउन बैंक कर्जा नै अन्तिम हो भन्ने अन्त्य गर्न उक्त नियमावली निर्माण गरिएको धितोपत्र बोर्ड अध्यक्ष रमेशकुमार हमाल बताउँछन्।
सरकार र राष्ट्र बैंकले समेत स्टार्टअप व्यवसायलाई सहुलियतमा कर्जा व्यवस्था गरेको छ। तर, यस्ता व्यवसायलाई कर्जाभन्दा लगानी आवश्यकता भएको हुँदा बोर्डले सहयोग गर्ने रणनीति बनाएको हमाल बताउँछन्।
‘कर्जामार्फत हामीले खोजेको देशको उन्नति कहिल्यै हुँदैन, लगानी जुटाउने वातावरण नियामकले बनाउने हो, नेपालमा स्टार्टअपप लगानी खोज्ने अहिलेसम्म कुनै नीति छैन,’ बोर्ड अध्यक्ष हमालले क्यापिटल नेपालसँग भने, ‘स्टार्टअपलाई धितोपत्र बजारमार्फत लगानी जुटाउने गरी नीति तयार गरेका छौं, यसलाई एन्जल इन्भेस्टर खोज्नेदेखि पब्लिकमा सेयर जारी गरी थप लगानी जुटाउने बाटो बोर्डले खुलाउन लागेको हो।’
अब स्टार्टअपलाई लगानी जुटाउन हरेक पाटोमा बोर्डले सहुलियत र सहजीकरण गर्ने उनले बताए।
बोर्डले यस्ता स्टार्टअप व्यवसायलाई व्यक्तिगत तथा संस्थागत एन्जल इन्भेस्टरसँग जोड्दै पब्लिकमा सेयर जारीसम्मको व्यवस्था गर्न लागेको हो।
‘स्टार्टअपमा ठूला तथा संस्थागत लगानीकर्ता आउन भन्ने उदेश्य हो, दीगो लगानी गर्ने लगानीकर्ता अनुभवी हुन्छन् भने, कम्पनी व्यवस्थापनमा गएर कम्पनीलाई विकास विस्तार गराउन सहयोग गर्छन्,’ उनले भने, ‘अमेरिकामा यस्ता लगानीकर्तालाई एन्जल इन्भेस्टर भन्छन्, यिनीहले स्टार्टअप बिजनेसलाई आएर सुधार गर्छन्।’
बोर्डले स्टार्टअप व्यवसायका लागि एन्जल इन्भेस्टर खोज्ने वातावरण बनाइदिन लागेको उनको भनाइ छ। बोर्डको स्टार्टअप व्यवसायलाई लगानीकर्ता खोज्ने रणनीति कार्यन्यवनमा आउँदा योजना निर्माणको अवस्थामा रहेका स्टार्टअपले नै ‘एन्जल इन्भेस्टर पाउँछन्।
के हो एन्जल इन्भेष्टर?
आइडिया विकासका अवस्था अर्थात कुनै पनि उद्यम व्यवसाय सुरु गर्नुअघिको अवधारणा तथा परियोजना मूल्यांकन गरेर लगानी गर्नेलाई एन्जल इन्भेस्टर भनिन्छ। यस्ता इन्भेस्टरले उद्यम गर्न ‘आइडिया’ भएका तर बजेट अभाव भएका उद्यमीहरुलाई आर्थिक सहयोग गर्छन्।
एन्जल इन्भेस्टरह आफूले लगानी गर्ने कम्पनीबाट उत्पादनको नाफाभन्दा कम्पनीको सम्पत्ति मूल्यांकन बढाएर फाइदा लिन लगानी गर्छन्।
उद्यमीले एन्जल इन्भेस्टरहरूलाई किन र केका लागि आर्थिक सहयोग चाहिन्छ भनेर सुनिश्चित गराउन सक्नुपर्छ। स्टार्टअप व्यवसायिक मोडेल, संस्थापक, टोली र उद्यमीको योजना बुझ्छन् र यसलाई लगानी गर्न तयार हुन्छन्। स्टार्टअपको फाइदा, बिजनेस मोडलले बजारमा कसरी काम गर्न सक्छ? र, बजारमा अरुभन्दा फरक हुनेमा समेत राजी भएमात्रै एन्जल इन्भेस्टरले लगानी गर्छन्।
बोर्डले ल्याउन लागेको ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ ले व्यक्तिगत एन्जल इन्भेस्टरसँगै संस्थागतरूपमा भेञ्चर क्यापिटल, प्राइभेट इक्यूटी र हेज फन्ड वा अन्य प्रकारका कोषमार्फत स्टार्टअपले लगानी संकलन गर्न सक्नेछन्।
स्टार्टअपमा एन्जल इन्भेस्टर को हुन्छन्? खोज्न कहाँ जाने?
बोर्डले स्टार्टअपका लागि दुई मोडालिटीमा एन्जल इन्भेस्टर खोज्न सहयोग गर्न लागेको छ। बोर्ड धितोपत्र बजारमा सूचिकृत हुनअघि र पछि गरी दुई तबरबाट यस्ता इन्भेस्टर खोज्न स्टार्टअपलाई सहयोग गर्न लागेको हो।
‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ कार्यन्यवनमा आएपछि स्टार्टअप व्यवसाय केन्द्र (हब) बनाउने प्रयत्न बोर्डको रहनेछ। यस्ता हबमा आइडिया विकास क्रममा रहेका, सञ्चालनमा रहेका वा घाटामा गएका स्टार्टअप दर्ता हुन्छन्।
यस्तो हबमा दर्ता भएका स्टार्टअप आइडिया वा कम्पनी अवस्था मुल्यांकन गरेर एन्जल इन्भेस्टरले लगानी गर्छन्। भेञ्चर क्यापिटल, प्राइभेट इक्यिटी र हेज फन्ड वा अन्य प्रकारमा कोषले पनि व्यक्तिगत निगरानी र मूल्यांकनमा वा बोर्डको मार्गदर्शनमा स्टार्टअपमा लगानी गर्छन्। यस्ता कम्पनीमा एन्जल इन्भेस्टरले न्यूनतम १५ लाख रुपैयाँदेखि लगानी गर्न सक्ने उनको भनाइ छ।
धितोपत्र बजारमा सुचिकृत भइसकेका कम्पनीका हकमा बोर्डले भेञ्चर क्यापिटल, प्राइभेट इक्यिटी र हेज फन्ड वा अन्य प्रकारमा कोषसँगै पब्लिकबाट पनि ठूलो र लामो समयका लागि लगानी खोज्ने नीति बनाएको छ।
ठूला तथा संस्थागत लगानीकर्तालाई स्टार्टअपमा भित्र्याउने उक्त नीति बनाएको बोर्ड अध्यक्ष हमाल बताउँछन्। हमाल भन्छन्, ‘बोर्डबाट बाहिर बसेपछि म त्यस्ता स्टार्टअपमा लगानी गर्छु, त्यस्ता उद्यमलाई कसरी हुर्काउने र अघि बढाउने र अधिकतम फाइदा कसरी हुन्छ भन्ने मलाई थाहा हुन्छ। यस्ता कम्पनीमा लामो समयसम्मका लागि लगानी गर्ने ठूला लगानीकर्ता नै आउँछन्।’
१० स्टार्टअपमा लगानी गर्दा ३ फेल भए पनि ७ बाट प्रसस्त फाइदा लिन सकिन्छ। स्टार्टअपमा लगानी मर्म नै त्यही रहेको हमालको भनाइ छ।
‘यस्ता उद्यम व्यवसाय गर्ने लगानीकर्ताले एउटामात्रै लगानी गर्दैनन्। एउटा लगानी डुबे अरु दुई÷चार बाट फाइदा लिन्छु भनेर वा एक÷दुई लगानी डब्दैमा फरक नपर्ने लगानीकर्ताले मात्रै गर्छन्,’ हमाल भन्छन्, स्टार्टअपको नियमित आम्दानीको स्रोत नभएर वैकल्पिक आम्दानीको स्रोत मान्ने लगानीकर्तालाई मात्रै यो क्षेत्रमा भित्राउने बोर्डको योजना हो।
स्टार्टअपमा लगानी गरेको पैसा डुब ेपनि फरक पर्दैन भनेर लगानी गर्न सक्नेमात्रै यहाँ आउन् भन्ने उद्देश्य बोर्डको हो। यद्यपि, स्टार्टअप लगानी जोखिमबारे समेत बोर्डले आवश्यक नीति बनाउने अध्यक्ष हमाल बताउँछन्।
संस्थागत लगानीकर्ता वा दीर्घकालीनन लगानी गर्न सक्ने क्षमता भएका लगानीकर्तालाई स्टार्टअपमा भित्र्याउने गरी बोर्डले काम गरिरहेको छ। यसमा कम्पनी पब्लिकमा नगएको अवस्थामा लगानी गर्नेदेखि पब्लिकमा जारी भएको सेयरमा हिस्सेदार हुन बोर्डले लगानीको सीमा निर्धारण गरेको छ।
एन्जल इन्भेस्टरलाई फाइदा कसरी?
धितोपत्र बजारमा आउने स्टार्टअप व्यवसाय पहिले नै पब्लिक कम्पनीका रूपमा दर्ता भएको हुनुपर्छ। प्राइभेट कम्पनी पनि पब्लिकमा परिणत भएपछिमात्रै धितोपत्र बजारमा आउन सक्छन्। यस्ता कम्पनीमा धितोपत्र बजारमार्फत लगानी जुटाउनु अगावै व्यक्तिगत, संस्थागत वा भेञ्चर क्यापिटलले लगानी गर्न सक्नेछन्।
धितोपत्र बजारमार्फत लगानी गर्ने वा त्यस अगावै लगानी गर्नेलाई नै बोर्डले स्टार्टअप एन्जल इन्भेस्टर नाम दिएको हो।
यस्ता इन्भेस्टरले धितोबिना परियोजना मूल्यांकन गर्दै त्यसमा लगानी गर्दा भविष्यमा आफ्नो सम्पत्ति मूल्यांकन वृद्धि गरी त्यसबाट फाइदा लिन्छन्।
उदाहरणका लागि कुनै ए लगानीकर्ताले १० करोड रुपैयाँ पुँजीको स्टार्टअप व्यवसायमा ५ करोड रुपैयाँ लगानी गर्छ। त्यसको ५/१० वर्षसम्म त्यो कम्पनीको व्यवसाय वृद्धिमा इन्भेस्टरले सहयोग गर्छ। कम्पनीको उत्पादन तथा व्यवसाय, कारोबार वद्धि हुँदै जाँदा एन्जल इन्भेस्टरको लगानी मूल्यांकनसमेत बढ्छ। १० करोड रुपैयाँको कम्पनी १० वर्षमा १ अर्ब रुपैयाँको भए इन्भेस्टर लगानीसमेत ५० करोड रुपैयाँबराबर हुन्छ। बढेको सेयर मूल्यांकनअनुसार मार्जिन राखेर इन्भेस्टरले सेयर बिक्री गर्छ। सेयर हस्तान्तरण प्रक्रिया भने धितोपत्र बजारमा सूचिकृत कम्पनीका लागि सोहीअनुसार नै रहन्छ भने सूचिकृति नभएका कम्पनी हकमा कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर हस्तान्तरण गर्दा पुग्छ।
आइपिओमा गइसकेका कम्पनी हकमा भने बोर्डले पाँच वर्षसम्म सेयर बिक्री गर्न नपाइने व्यवस्था गर्न लागेको छ। तर, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल, हेज फन्ड वा अन्य प्रकारका कोषका हकमा भने आइपिओ बाँडफाँड भएको एक वर्षपछि बिक्री गर्न सक्नेछन्।
पब्लिकमा जान सहजता
कुनै पनि कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न पब्लिक कम्पनीका रूपमा दर्ता भएर शाख निर्धारण (रेटिङ) गराएको हुनुपर्छ। सम्बन्धित क्षेत्रको नियामक निकायसँग अनुमति लिएर धितोपत्र बोर्डमा आवश्यक प्रक्रिया पूरा गरेपछिमात्रै हकप्रद वा आइपिओ जारी गर्न पाउँछन्। साथै, बोर्डले अन्य लागत कम गर्न अन्डररइटिङ नपर्ने व्यवस्था गरेको छ।
विदेशमा स्टार्टअपलाई धितोपत्र बजारमा ल्याउन सहजीकरणमा नियामकले बिक्री प्रबन्धसमेत राख्नु नपर्ने व्यवस्था गरेको हुन्छ। तर, बोर्डले नेपालका स्टार्टअप कम्पनीले बिक्री प्रबन्धक राख्नुपर्ने व्यवस्था गर्न लागेको छ। विदेशमा स्टक एक्सचेञ्जले नै स्टार्टअप बिक्री प्रवन्धकको काम गरिरहेका हुन्छन्। नेपालको स्टक एक्सचेञ्ज बलियो नभएको कारणले बाहिरबाट बिक्री प्रबन्ध राख्न लगाउन परेको बोर्ड अध्यक्ष हमाल बताउँछन्।
‘लागत कम गर्ने अन्य सहयोग गर्न सके पनि नेप्से अलि लायक नभएको हुँदा बिक्री प्रबन्धमा सहयोग गर्न सकेनौं,’ अध्यक्ष हमालले भने।
स्टार्टअप उद्यम पब्लिक कम्पनीका रूपमा दर्ता भएर एक वर्ष पूरा भएका न्यूनतम २५ करोड रुपैयाँ पुँजी कायम गरेका कम्पनीले आइपिओ जारी गर्न पाउनेछन्। यद्यपि, संस्थाको उपस्थिति र बजार अवस्था हेरेर चुक्ता पुँजीको सीमा हेरफेर गर्न सक्नेछ।
यस्ता स्टार्टअप कम्पनीको आइपिओमा न्यूतम २ सय ५० कित्तासम्म र अधिकमत निष्कासनको ५० प्रतिशतसम्म आवेदन दिन सक्नेछन्। यद्यपि, यस्ता कम्पनीमा लगानीकर्ताले न्यूनतम १० लाख रुपैयाँसम्म लगानी गर्न सक्ने हमाल बताउँछन्।
आइपिओ निष्कासनको अनुमति पाएका स्टार्टअप कम्पनीले सेयर बिक्रीका लागि बढीमा १५ दिन खुला गर्न पाउने छन्। उक्त अवधिमा ५० प्रतिशभन्दा बढी कम आवेदन परेमा निष्कासन तथा बिक्री प्रबन्धकले उक्त कार्य रद्द गर्नुपर्ने हुन्छ। यस्ता कम्पनीले प्रिमियममा सेयर जारी गर्नसमेत सक्नेछन्। बोर्डले स्टार्टअप कम्पनीलाई हकप्रदमार्फत पुँजी बढाउन दिनेछ।