काठमाडौं। पुराना तर मौलिक घर। पुरानै (परम्परागत) पारामै राखिएका सामान। पसलकबलमा देखिने होर्डिङ बोर्डसमेत पुरानै ढर्राको। बिनाकुनै प्रचारप्रसार खानाको स्वाद र सामान प्रयोगका आधारमा कानैकान प्रसारित सन्देशका भरमा ग्राहकको औधी भीडभाड।
पछिल्लो समय खुलेका नयाँ व्यापार–व्यवसायको सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा छ्याप्छ्याप्ती प्रचारप्रसार भेटिइरहँदा पनि ग्राहक शीलामा खोज्नुपर्ने स्थितिमा कतिपय मौलिकपन झल्कने व्यवसायको पारो दैनिक उकालो चढिरहेको छ।
हो, यस्तै भीडभाड दृश्य देख्न सकिन्छ आफ्नै व्यावसायिक विशेषता भएका काठमाडौं, ललितपुर र भक्तपुरका एकाध पसलमा। एकाधरूपमा पाइने यस्ता व्यवसायको ठेगाना पत्ता लगाउनसमेत मानिसलाई धौधौ हुन्छ। तर, मनमा चाहना भएपछि के सम्भव हुँदैन र! मानिस ठाउँ पत्ता लगाएरै भए पनि आफ्नो मनोकांक्षा पूरा गरिहाल्छन्।
जोकोही पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझियाको ‘बाजेको पेडा’ सम्झिएर मुख रसाउँछ, हो त्यस्तैगरी उपत्यकामा रहेका ‘किरण दाइ’ को मःमः होस् कि ‘नारायण दाइ’ को मःमः होस् वा ‘एभरेस्ट मःमः’ नाम सुन्नेबित्तिकै धेरैको मुख रसाउँछ।
आफ्नै व्यावसायिक विशेषता भएका काठमाडौं, ललितपुर र भक्तपुरका एकाध पसलमा। एकाधरूपमा पाइने यस्ता व्यवसायको ठेगाना पत्ता लगाउनसमेत मानिसलाई धौधौ हुन्छ। तर, मनमा चाहना भएपछि के सम्भव हुँदैन र! मानिस ठाउँ पत्ता लगाएरै भए पनि आफ्नो मनोकांक्षा पूरा गरिहाल्छन्।
त्यस्तैगरी मिठाइ पारखीले ‘स्वीट केभ’ को नाम लिइहाल्छन्। पुरानो खानामा स्वाद जोडिने ‘होनचा रेस्टुरेन्ट’ देखि ‘रत्नपार्क पाउँ भण्डार’ र कपडा पारखीका लागि ‘नेपाली कापः’ पनि बिनाकुनै तडकभडक सबैको मनमा बस्न सफल भएकै छ।
त्यसैगरी मिठाइको कुरा गर्ने हो भने थापाथलीस्थित ‘राम भण्डार’ छुटाउनै नहुने नाम हो। राम भण्डार राजकर्णिकार परिवारको यस्तो पुस्तैनी मिठाइ पसल हो, जसले ‘श्री ३ जंगबहादुर राणा’ लाई पनि मिठाइ खुवाएको थियो’ भनिन्छ।
उता, समोसा पारखीको ‘सुपरहिट’ गन्तव्य न्युरोडको ‘टिपटप’ नपुग्ने सायदै होलान्। तात्तातो समोसा र त्यसको मिठो अचारको स्वाद धेरै समयसम्म जिब्रोमै झुन्डिने गर्छ। समोसा खानेको भीड छिचोल्न हम्मे पर्ने टिपटपमा उस्तै परे लाइनमा उभिनुपर्ने पनि हुन्छ।
त्यहाँबाट न्युरोड गेट आइपुग्दा आडैमा रहेको ‘न्युरोड गुँदपाक भण्डार’ मा पाइने गुँदपाक र पुष्टकारी नखाने र कोसेली नलाने कमै होलान्। यसका स्वादिष्ट गुँदपाक र पुष्टकारी नेपाली पुगेको संसारका जुनसुकै कुनामा पुगेका छन्।
काठमाडौं कमलपोखरीछेउमा दशकौंदेखि एउटा यस्तो पसल छ, जसले काठमाडौंवासीमात्र नभई काठमाडौं आइपुग्ने देशदेशावरका मानिसलाई मिठो पाउरोटी खुवाउँदै आएको छ। त्यो घरेलु ब्रान्ड हो– कृष्ण पाउरोटी। पछिल्लो समय लाखौं, करोडौं लगानीमा खुलेका ठुल्ठूला बेकरी उद्योगसँग बिनाविज्ञापन प्रतिस्पर्धा गरिरहेको कृष्ण पाउरोटीमा आज पनि ग्राहकको भीड सरावरी हुने गर्छ।
मुखमुखै सुपरहिट भएको अर्को पसल हो– बाजेको सेकुवा। दशकौंअघि दीनानाथ भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउको चौरमा टिनको भाँडोमा झिरमा सेकुवा पोलेर बेच्दा कुनै दिन ‘बाजेको सेकुवा’ को सञ्जाल अमेरिकासम्म पुग्छ भन्ने सायदै सोचेका थिए।
मुखमुखै सुपरहिट भएको अर्को पसल हो– बाजेको सेकुवा। दशकौंअघि दीनानाथ भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउको चौरमा टिनको भाँडोमा झिरमा सेकुवा पोलेर बेच्दा कुनै दिन ‘बाजेको सेकुवा’ को सञ्जाल अमेरिकासम्म पुग्छ भन्ने सायदै सोचेका थिए।
तर, उनले नसोचेको कुरा अहिले विपनामा परिणत भएको छ। मुलुकका धेरै ठाउँमात्र नभई अमेरिकामा समेत बाजेको सेकुवाको शाखा खुलेको छ, जसले बाजेको सेकुवालाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाइदिएको छ।
काठमाडौं छाडेर पश्चिम लाग्दा चितवन नारायणगढको ‘भेटघाट तास रेस्टुरेन्ट’ मा तास नखाने सायद कमै होलान्। वर्षौंदेखि चितवनलाई तास गन्तव्य बनाउन सफल भेटघाटले ‘तास भनेको चितवनको परिकार हो’ भन्ने मानक स्थापित गरेको छ भन्दा अत्युक्ति नहोला।
चितवनबाट सिधै रुपन्देही भैरहवा मुख्य बजार पुग्दा पवन मिष्ठान्न भण्डारको ‘पवनको पेडा’ ले सबैलाई स्वागत गरिरहेको हुन्छ। ठुल्ठूला कराईमा दूध उमालेर खुवा मिसाउँदै बनाइने स्वादिलो पवनको पेडा स्वदेशदेखि विदेशसम्म चर्चित छ। भैरहवा पुग्ने जोकोहीले पवनको पेडा कोसेली बोकेर ल्याएकै हुन्छन्।
पुरानो रहनसहन प्राथमिकतामा राखेर व्यावसायिक गतिविधि गरेकै कारण ती ठाउँमा एकपटक पुगेको मान्छे दोस्रोपटक जाँदा अर्को साथी पनि सँगै लिएर जान्छ। एवंरितले ‘मुखैमुख’ (माउथ टु माउथ) प्रचारप्रसार भइरहेको छ। जहाँ भनेकै/सुनेकै भरमा मानिसहरू ठाउँ खोजिखोजी गइरहेका छन् र सेवा उपयोग गरिरहेका छन्।
सामाजिक अभियान्तासमेत रहेका स्वीट केभका सञ्चालक सुमन सायमी पारिवारिक पृष्ठभूमिसँग जोडिएका कतिपय व्यवसायले गुणस्तरमा सधैं ध्यान दिएकाले ठूलो प्रचारप्रसारबिनै व्यावसायिक सफलता मिलेको ठान्छन्। ‘आफूहरूकहाँ आउने ग्राहकलाई बुबाले जुन स्वादमा खुवाउनुभएको थियो, अहिले पनि त्यही स्वाद र गुणस्तर टिकाइरहेका कारण ग्राहकको कमी छैन,’ सायमी भन्छन्, ‘गुणस्तर र स्वादमात्र हैन, पसल आउने ग्राहकलाई गरिने व्यवहारले पनि व्यावसायिक वातारणमा धेरै प्रभाव पार्छ।’
व्यवसाय विस्तारका लागि प्रचारको नयाँ शैली अपनाएर तडकभडक देखाउने तर स्वाद, गुणस्तर र व्यवहार कायम नगर्दा धेरै व्यवसाय अप्ठेरेमा पर्ने गरेको अनुभव सायमीको छ।
ग्राहकसँग पैसा कसरी धेरै थुत्ने होइन, मन कसरी जित्ने र त्यसलाई टिकाइरहने भन्ने वातावरणमा हुर्किएका यस्ता व्यवसाय सय वर्ष पुग्दा पनि उत्तिकै चलायमान छन्। वर्षौंदेखि चल्दै आएका अधिकांश व्यवसाय आफ्ना पुर्खासँग जोडिएको हुन्छ।
आफ्ना जिजुबुबा, हजुरबुबा, बुबा हुँदै आफ्नो पालामा आएका यस्ता व्यवसायले पुर्खाको इज्जत ख्याल गरेर काम गर्दा जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि टिकिरहेका छन्। पछिल्लोपटक भूकम्प, कोभिड महामारी र बढ्दै गएको आर्थिक मन्दीका कारण धेरै नयाँ व्यवसाय बन्द भइरहेका बेला परम्परागत चलिरहेका पुस्तैनी व्यवसायलाई खासै ठूलो धक्का लागेको छैन।
आफ्ना जिजुबुबा, हजुरबुबा, बुबा हुँदै आफ्नो पालामा आएका यस्ता व्यवसायले पुर्खाको इज्जत ख्याल गरेर काम गर्दा जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि टिकिरहेका छन्। पछिल्लोपटक भूकम्प, कोभिड महामारी र बढ्दै गएको आर्थिक मन्दीका कारण धेरै नयाँ व्यवसाय बन्द भइरहेका बेला परम्परागत चलिरहेका पुस्तैनी व्यवसायलाई खासै ठूलो धक्का लागेको छैन।
रत्नपार्क पाउँ भण्डारका सञ्चालक विजय श्रेष्ठका अनुसार सम्पूर्ण परिवार नै एउटै व्यवसायमा आबद्ध हुँदा गुणस्तर, स्वाद र व्यवहार परिवर्तन हुनासाथ ग्राहकले नरुचाउने र व्यवसाय नै धरापमा पर्नसक्छ। ‘आफ्नै व्यवसाय धरापमा पार्ने चाहना कसको हुन्छ !,’ श्रेष्ठ भन्छन्।
विकसित समाजमा नाम चलेको ब्रान्डसमेत केही समयमा हराउँदै गएको परिस्थितिमा परम्परागत चलेका कतिपय व्यवसायले १ सय वर्ष पार गरिसकेका छन्। ग्राहक नै भगवान मान्ने यस्ता परम्परागत व्यवसाय सञ्चालकले आफ्नो सम्पूर्ण ऊर्जा त्यसैमा खर्चिंदै आएको पाइन्छ। लामो समयसम्म ग्राहकको रुचि टिकाइराखेर व्यावसायिक निरन्तरता कायम राख्नु पनि एकप्रकारको सफलता हो। पुस्तैनी व्यवसायले रोजगारीमा पनि धेरथोर सहयोग गरिररहेकै छ।
नेपाली कापः का सञ्चालक प्रबोध कसाः ले हजुरबुबा र बुबाले राखेको ‘इष्ट’ लाई अहिलेसम्म आफूले निरन्तरता दिइरहेको बताए। ‘जसरी हजुरबुबा र बुबाले व्यापार गर्नुहुन्थ्यो, त्यही किसिमले आफूले पनि व्यवसाय गरिरहेकाले ग्राहकको रुचि उस्तै छ,’ कसाः भन्छन्, ‘घरेलु उत्पादनका लुगा लगाउनेको जमात अहिले पनि छन्।
तर, गुणस्तरीय भने हुनुपर्छ। गुणस्तर कायम गरेर व्यावसायिक व्यवहारलाई सरल राखेकै कारण दशकौंदेखि सञ्चालित व्यवसायले निरन्तरता पाइरहेको हो।’
ब्रान्ड बढी बिक्ने आधुनिक समाजमा बिनाकुनै तडकभडक व्यवसायिक निरन्तरता कायम राख्नु कम चुनौतीपूर्ण छैन। एकाध औद्योगिक घरानाको व्यावसायिक सफलता चर्चामा ल्याइए पनि पुस्तैनी व्यवसायबारे समाजले खासै चासो र सोधीखोजी गरेको पाइँदैन।
तर, कतिपय व्यवसायको नाम सुनेपछि खोजी गर्दै पुग्ने र आफूलाई मन लागेको सामान लिएर हिँड्ने जमात भने बढ्दो छ। यसै विषयमा क्यापिटल नेपाल डटकमले उपत्यकामा रहेका केही त्यस्ता परम्परागत व्यवसाय पहिल्याउने कोसिस गरेको छ।
१ सय वर्षभन्दा अघिदेखि सञ्चालित यस्ता कतिपय प्रतिनिधिमूलक व्यवसायले परम्परागत व्यवसायमा सकारात्मक प्रभाव पारी थप विस्तारमा सहयोग गर्नसक्छ। यस्ता व्यवसाय कसरी टिकिरहेका छन् भन्ने विषयमा सम्बन्धित व्यवसायीहरूको अनुभव पनि यसमा समेट्ने कोसिस गरिएको छ।
(पहिलो अंक आगामी शनिबार प्रकाशित हुनेछ।)