काठमाडौं। मेडिकल व्यवसायीको लगानीमा ‘ग्रिनफिल्ड पोल्ट्री फार्म’ सञ्चालनमा आउने भएको छ। १ अर्ब ६२ करोड ३० लाख रुपैयाँ लगानीमा ‘जनकपुर एग्रो फार्म लिमिटेड’ ले एकैपटक तीनवटा फार्म सञ्चालनमा ल्याउन लागेको हो।
एग्रो फार्ममा पोल्ट्रीका साथै फर्टिलाइजर र सिएजी बायोग्यास प्लान्ट पनि निर्माण हुने भएको छ। एग्रो फार्म सन् २०२५ सम्म सञ्चालनमा ल्याउने तयारी भएको छ। फार्म यो महिनाभित्र आंशिकरूपमा सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीले जनाएको छ।
फार्ममा ७० प्रतिशत बैंक ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। जसअनुसार १ अर्ब १३ करोड ६० लाख रुपैयाँ बैंक ऋण र बाँकी ४८ करोड ७० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुनेछ।
कुखुरापालन व्यवसायमा संलग्न गराउन कम्पनी स्थापना भएको हो। फार्मले लेयर्स कुखुरा र अन्डा उत्पादन गर्छ। फार्ममा ५१ हजार ८ सय ४० लेयर्स सेड र १ लाख कुखुरा उत्पादन गर्ने अर्को गरी दुई सेड हुने भएको छ।
उद्योगले वार्षिक ८ हजार ७ सय २० टन जैविक मल उत्पादन गर्ने भएको छ। प्रस्तावित सिएजी बायोग्यास प्लान्टबाट ८ सय किलोवाट बिजुली उत्पादन हुने जनकपुर एग्रोले जनाएको छ। उद्योगले १ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
जनकपुर एग्रो २०१८ सेप्टेम्बरमा स्थापना भएको हो। प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न २०२२ जुन २६ मा जनकपुर एग्रो पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। उद्योग धनुषामा छ।
सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न पोल्ट्रीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाएको छ। नेपाली पोल्ट्री उद्योगले उत्पादन र उत्पादकत्वको बढ्दो माग पूरा गर्दै आएको छ।
पर्यटकको बढ्दो आवागमन र तीव्र सहरीकरण, सहरीका खाने बानीमा परिवर्तन र कुखुराको मासु र अन्डा उपलब्धता सबै सहरी केन्द्रमा र साना बजार क्षेत्रमा पनि छ। पोल्ट्री उद्योग आर्थिक चक्रबाट अपेक्षाकृत अछुतो छ। हालको उपभोग प्रवृत्ति हेर्दा कुखुरा उत्पादनको माग मध्यम अवधिमा स्थिर रहने सम्भावना छ।
जनकपुर एग्रोका अध्यक्षमा मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल छन्। प्रबन्ध निर्देशक शोभाकान्त ढकाल छन्। अर्याल गण्डकी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका अध्यक्ष, युनिभर्सल कलेज अफ मेडिकल साइन्सका प्रबन्ध निर्देशक र नेपालगन्ज मेडिकल कलेजका निर्देशक हुन्।
अर्याल खैलुङ कालिका एग्रो फार्म प्रालिका सञ्चालक पनि हुन्। खैलुङमा शोभाकान्त ढकाल साझेदार छन्। ढकाल ओम एग्रोको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि हुन्। अर्याल र ढकालको बैंकिङ, एग्रो, पर्यटन, होटल र नवीकरणीय ऊर्जामा लगानी छ।
सन् २०१३ मा स्थापना भएको खैलुङ एग्रोले २०२२ मा ४५ करोड रुपैयाँको पोल्ट्री व्यापार गरेको थियो। यस्तै २०२३ हालसम्म ३७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले जनाएको छ।
कम्पनीको ५१ हजार लेयर कुखुराको क्षमता छ। एग्रो कम्पनीले कुखुरा र अन्डा व्यापार गर्छ। विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशमा कुखुरा र अन्डा आपूर्ति गर्दै आएको छ। कम्पनीले ५५ करोड १३ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।