काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नागरिकको लगानीमा जलविद्युतको विकास गरिने बताएका छन्।
विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै घिसिङले आगामी दिनमा बनाइने जलविद्युत आयोजनामा नागरिकको लगानीलाई व्यापकरूपमा सामेल गराइने बताएका हुन्।
‘सरकारले प्राधिकरणको आर्थिक वर्ष २०६७/६८ सालसम्म २७ अर्ब १९ करोड रुपैयाँ सञ्चित घाटालाई अपलेखन गरिदिएपछि पनि घाटामा जाने क्रम रोकिएको थिएन। घाटा अपलेखन गरिएको पाँचौं वर्ष अर्थात आर्थिक वर्ष २०७२/७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड र सञ्चित नोक्सानी फेरि बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पगेको थियो,’ घिसिङले भने, ‘आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेर गौरवमय इतिहास बनाएको प्राधिकरण त्यसपछिका आर्थिक वर्षमा निरन्तर नाफामा छ। गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ।’
उनले आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्न त्यसको सम्पूर्ण तयारी गरेको पनि जानकारी दिए।
उच्च आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्यअनुसार आवश्यक उर्जा उत्पादन र प्रसारण अघि बढिएको उनको भनाइ छ।
‘नेपालका अधिकान्स जलविद्युत आयोजना नदी प्रवाही भएकाले विद्युत आयात गर्नुपर्ने अवस्था छ। यो अवस्था अझै केही वर्ष रहे पनी त्यसपछि यसको अन्त्य हुन्छ,’ घिसिङले भने, ‘प्राधिकरणले मुलुकको उर्जा माग धान्न विद्युत खरिद सम्झौतामार्फत निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ।’
उनले सूचना प्रविधि नीति तयार गरी संस्थाको कार्यलाई प्रभावकारी र सेवामूलक बनाउन थालिएको जानकारी दिए।
८ सय ६० मेगावाट अरुण ४ जलविद्युत आयोजना भारतको सतलज जलविद्युत निगमसँग र ६ सय ८३ मेगावाट सुनकोसी तेस्रो जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा आगामी दिनमा विकास गरिने पनि घिसिङले जानकारी दिए।