काठमाडौं। बंगलादेशबाट ७ सय पर्यटक नेपाल आउने भएका छन्। उनीहरू जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन्।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्।
यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए।
नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो।
राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे।
एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलोपटक हो।
नेपालबाट नजिक दुरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो।
ठूलो सङ्ख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटक प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे।
कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य सङ्ख्यामा बंगलादेशी पर्यटक नेपाल आएका थिए।
बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महिनामा बंगलादेशबाट १३ हजार ६ सय २४ पर्यटक नेपाल आएका थिए।
जुलाई महिनामात्रै २ हजार ६ सय ९४ बंगलादेशी पर्यटक नेपाल आएका छन्। जुनमा २ हजार ४ सय २, अप्रिलमा २ हजार २ सय १७, मार्चमा २ हजार ४ सय ६६, फेब्रुअरीमा १ जहार ९ सय ७ र जनवरीमा २ हजार ४ ६८ बंगलादेशी पर्यटक नेपाल आएका तथ्यांक छ।
यसअघि सन् २०२२ मा बंगलादेशबाट २५ हजार ३ सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए।
बोर्डका अनुसार सन् २०२३ को ७ महिनामा कूल ५ लाख ३४ हजार २ सय ७ विदेशी पर्यटक भित्रिएका छन्।