काठमाडौं। गत आर्थिक वर्ष विद्युत खपत ५.५ प्रतिशत बढेको छ। एक वर्षमा खपत बढेर ९ अर्ब ३५ करोड युनिट पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ८२ करोड ३० लाख युनिट बिजुली खपत भएको थियो।
यस्तै २०७७/७८ मा ७ अर्ब २७ करोड ५० लाख युनिट बिजुली खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। वर्षेनि विद्युत खपत बढ्दै गएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
विद्युत सेवा विस्तारसँग ग्राहक संख्या थप भएपछि खपत बढेको हो। गत असारसम्म ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय ग्रिडबाट ९५ प्रतिशत पुगेको छ।
यस्तै साना तथा लघु जलविद्युत आयोजना र सौर्य विद्युत प्रणालीबाट तीन प्रतिशत जनतामा बिजुली सेवा पुगेको छ। साना तथा लघु जलविद्युत आयोजनाले मुलुकको दुर्गम क्षेत्रमा बिजुली पहुँच बढाउन सहयोग पुर्याएको छ।
एक वर्षमा बिजुली खपत गर्ने ग्राहक संख्या ७.७६ प्रतिशत बढेर ५१ लाख ३० हजार पुगेको छ। सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपभोग गरिरहेका ५ लाख १० हजारसहित कूल ग्राहक संख्या ५६ लाख ४० हजार पुगेको छ। दुई वर्षअघि करिब ८९ प्रतिशत विद्युतीकरण भएको थियो।
हालसम्म प्रणालीको जडित क्षमता कूल २ हजार ८ सय २२ मेगावाट पुगेको छ। प्रतिव्यक्ति ऊर्जा खपत करिब २ सय ३५ युनिट रहेकोमा अहिले बढेर ३ सय ८० युनिट पुगेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको नाफा घट्यो
आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा घटेर १२ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ।
गत आर्थिक वर्ष सुक्खायाम लम्बिएर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा ह्रास आयो।
आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको नाफा २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा २०७८/७९ मा बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो।
प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ।
कारोबार बढे पनि नाफा बढाउन प्राधिकरण व्यवस्थापन असफल भएको छ। प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
गत वर्ष विद्युत प्राधिकरणका आयोजनाबाट हुने उत्पादन १०.१० प्रतिशत घटेको छ। प्राधिकरणले सञ्चालन गरिरहेका कालिगण्डकी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, त्रिशुली थ्रि ए र चमेलियालगायत आयोजनाबाट कूल २ अर्ब ९३ करोड युनिट बिजुली उत्पादन भएको छ।
यस्तै निजी लगानीका आयोजनाबाट ५ अर्ब ११ करोड र प्राधिकरणका सहायक कम्पनी अपर तामाकोसी र चिलिमेबाट गरी २ अर्ब ४८ करोड रूपैयाँबराबर बिजुली खरिद भएको छ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा निजी क्षेत्रबाट १९.४१ र सहायक कम्पनीबाट २५.९१ प्रतिशत विद्युत खरिद बढेको छ। एक वर्षमा विद्युत खरिदमा मात्रै प्राधिकरणले ६१ अर्ब रुपैयाँ खर्च गरेको छ।