काठमाडौं। नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ।
समझदारीपत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरे।
दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संशाधनको सहयोगबाट उद्यमशीलता तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्य हुनेछ।
परिसंघ सचिवालयमा आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशीलता तथा व्यावसायिक प्रवर्द्धन गर्न सरकारसँग प्रभावकारी काम गर्नुपर्ने बताए।
‘ब्रेन डेन’ रोक्न, उद्यमीका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्दै अध्यक्ष अग्रवालले भने, ‘आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोच भएका युवालाई उद्यमी बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्दछु।’
परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनसम्बन्धी गतिविधिबारे जानकारी गराउँदै उनले दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नवीनतम् काम हुने पनि बताए।
आइडिया स्टुडियोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए।
देशमा केही गरौं भन्नेका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघसँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने उनको विश्वास छ।
परिसंघ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलता क्षेत्रमा सामूहिकरूपमा नयाँ काम हुने बताए।
आइडिया स्टुडियो नेपाल र नेपाल उद्योग परिसंघबीच लामो समयदेखि सहकार्य हुँदै आएको छ।्र विगतका वर्षमा पनि आइडिया स्टुडियो र परिसंघले ‘इन्फ्रास्ट्रक्चर आइडिया हन्ट’ कार्यक्रम गरेको थियो।