काठमाडौं। गत सोमबार गोलभेँडाको मूल्यले रेकर्ड राख्यो। कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार त्यस दिन गोलभेँडाको मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँसम्म पुग्यो।
उक्त दिन ठूलो नेपाली गोलभेंडाको मूल्य १ सय ७० देखि १ सय ८०, सानो लोकल गोलभेँडाको मूल्य ७५ देखि अधिक्तम ८० र सानो टनेल गोलभेँडाको मूल्य न्युनतम १ सय ३ देखि १ सय १० रुपैयाँ प्रतिकिलो पुगेको थियो।
तर, विगत तीन दिनदेखि आश्चर्यपूर्ण ढंगले गोलभेँडाको मूल्य घटिरहेको छ।
समितिका अनुसार गोलभेँडाको मूल्य घटेर बिहीबार न्यूनतम ७५ रुपैयाँसम्म पुग्यो।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बिहीबार ठूलो नेपाली गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १ सय ३० देखि अधिक्तम १ सय ५० रुपैयाँ र सानो टनेल गोलभेँडाको न्यूनतम प्रतिकिलो ७५ देखि अघिक्तम ९२ रुपैयाँसम्म पुगेको छ।
विगत तीन दिनदेखि लगातार किन घटिरहेको छ त मूल्य? नेपालको गोलभेँडा उत्पादन बढेकै हो?
जानकारहरूको भनाइअनुसार नेपालमा यो गाेलभेँडाकाे मौसम होइन। गाेलभेँडा उत्पादन बढेर मूल्य घटेको भन्ने कुुरा यथार्थ नभएको ताजा कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक राङडोल लामाले बताए।
‘अहिले त कसैको गोलभेँडा उत्पादन नै छैन। कसै–कसैले मल/जल गरेर दुई/चार टनेल राखेको भए पनि उत्पादन आधा पनि छैन। स्वदेशी उत्पादन बढेर मूल्य घट्नु त असम्भवजस्तै छ,’ उनले भने।
मूल्य घट्ने र बढ्ने प्रक्रिया सामान्य भएको कालीमाटी फलफूल तथा तरकारी विकास समितीका प्रवक्ता विनय श्रेष्ठ बताउँछन्।
‘हरेक कुराको एउटा उचाइ हुन्छ। गोलभेँडा एउटा बिन्दुसम्म बढ्यो र अहिले घट्दै छ। मूल्य बढेपछि उपभोक्ताले खपत कम पनि गरेको हुन सक्छ,’ उनले भने।
मूल्य घटेपनि गोलभेँडाको आयात भने नबढेको श्रेष्ठ बताउँछन्।
‘मूल्य घटेको तुलनामा आयात बढेको छैन। कालीमाटीमा गोलभेँडा आयात अहिले पनि दैनिक ३०/३५ टन नै छ,’ उनले क्यापिटल नेपालसगँ भने।
वस्तु बजारमा मूल्य घट्नु र बढ्नु कुनै ठूलो कुरा नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले बताउँछन्।
‘गोलभेँडा भनेको नाशवान कुरा हो। असारमा हाम्रो उत्पादन धेरै हुँदा किसान र व्यापारीले फ्याक्नुपर्ने अवस्था आयो। पछि उत्पादन घटेपछि मूल्य अत्याधिक बढ्यो,’ उनले भने।
हाल उत्पादन नबढे पनि मूल्य घट्नु ठूलो कुरा नभएको शर्मा बताउँछन्। ‘यसलाई के भन्नु? भारतको उत्पादन आएको छैन। हाम्रो उत्पादन बढेको छैन। सायद उपभोक्ताले नै गोलभेँडा उपभोग घटाउनुभयो होला,’ उनले भने।
स्वदेशी गोलभेँडाले धान्दैन नेपाली भान्छा
स्वदेशी गोलभेँडाले नेपाली भन्छा नधान्ने तथ्याङकले देखाउँछ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा ६१ करोडभन्दा धेरैको गोलभेँडा आयात भएको थियो।
त्यसबेला ६१ करोड ८ लाख ६३ रुपैयाँबराबरको ४ करोड २१ लाख ५ हजार ६ सय ४ किलो गोलभेँडा आयात भएको थियो। जसबाट सरकारले ६ करोड २ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
त्यस्तै, सोही वर्ष १० लाख किलोभन्दा धेरै गोलभेँडा निर्यात भएको थियो। भन्सार विभाग तथ्यांकअनुसार गत आर्थिक वर्ष भारतमा मात्र १ करोड ४९ लाख ४ हजार रुपैयाँको १० लाख ९४ हजार ५ किलो गोलभेँडा निर्यात भएको थियो।