काठमाडौं। सरकारले औद्योगिकलगायत विभिन्न क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। अब श्रमिकले मासिक १७ हजार ३०० रुपैयाँ तलब पाउने भएका छन्।
गत असारसम्म श्रमिकको मासिक न्यूनतम तबल १५ हजार रुपैयाँ थियो। मजदुरको तलब २ हजार ३ सय रुपैयाँ बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐनअनुसार साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो।व्यवसायिक प्रतिष्ठान र मजदुर संगठनबीच सहमति नभएपछि मन्त्रालयले एकपक्षिय रुपमा मजदुरको पारिश्रमिक बढाएको छ।
मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार मासिक तलब १० हजार ८ सय २० रुपैयाँ तोकिएको छ। यस्तै महंगी भक्ता ६ हजार ४ सय ८० रुपैयाँ बनाइएको छ। यसअघि आधारभूत तलब ९ हजार ३ सय ८५ र मंहगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ थियो।
मजदुरको दैनिक पारिश्रमिक ६ सय ६८ रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ। आधारभूत ४ सय १८ र महंगी भक्ता २ सय ५० रुपैयाँ पुर्याइएको छ। मजदुरको तलब प्रतिघण्टा ८९ रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ।
यस्तै आंशिक समय मात्र काम गर्ने मजदुरको दैनिक ज्याला ९५ रुपैयाँ पुगेको छ। सरकारले २०७८ सालमा श्रमिकको तलब निर्धारण गरेको थियो।
चिया बगानमा काम गर्ने मजदुरको मासिक पारिश्रमिक १३ हजार ८ सय ९३ रुपैयाँ पुगेको छ । यसअघि १२ हजार ८१ रुपैयाँ थियो। चिया मजदुरको दैनिक ज्याला ५ सय रुपैयाँ पुगेको छ।
यसअघि ४ सय ३५ रुपैयाँ थियो। श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका सुविधा, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चय कोष तथा उपदान अनिवार्य रुपमा पाउने भएका छन्।