काठमाडौं। सार्वजनिक निजी साझेदारीमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको बिजुली बेचेर रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने भएको छ।
१ सय ११ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनबाट उत्पादन हुने ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी यो रकम आम्दानी गर्ने भएको हो।
नेपाल–चीन सीमा रसुवागढीमा निर्माण भइरहेको आयोजनाबाट आगामी असोजबाट बिजुली उत्पादन हुने भएको छ।
अहिलेसम्म आयोजनाको ९७ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ। रसुवागढीबाट गत असारमा बिजुली उत्पादन गर्ने योजना थियो। काम नसकिएपछि आयोजना फेरि तीन महिना पछाडि धकेलिएको छ।
आयोजनाको अनुमानित लागत बढेर निर्माण अवधिको ब्याजबाहेक १७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यसअघि १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। भूकम्प, नाकाबन्दी र बाढीले गर्दा आयोजनाको समय थप हुँदा लागत बढ्न गएको कम्पनीले जनाएको छ।
सरकारले पनि रसुवागढी आयोजना गत आर्थिक वर्षमा सक्ने लक्ष्य लिएको थियो। यसअघि आउँदो पुससम्म बिजुली उत्पादन गर्ने लक्ष्य विकासकर्ता रसुवागढीले जनाएको थियो। २०७८ असारमा सक्ने लक्ष्य लिइएकोमा पटक-पटक आयोजना पछि धकेलिँदै आएको छ।
यसअघि २०७९ असारबाट बिजुली उत्पादन गर्ने लक्ष्य घर्किएपछि ६ महिना समय थपेर २०७९ पुसमा पुर्याइएको थियो। पुसमा पनि सम्भव नभएपछि फेरि तीन महिना थपेर चैतमा पुर्याइएको थियो। आयोजना २०७६ फागुन ७ मा सक्ने लक्ष्य थियो।
विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारी, भोटेकोशी नदीमा आएको ठूलो बाढीले क्षति पुर्याउनुका साथै केही प्राविधिक समस्याले आयोजनाको समय थप भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
विद्युत प्राधिकरणसँग बिजुली खरिद-बिक्री सम्झौता (पिपिए) गर्दा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधार मानेर कर्मचारी सञ्चय कोषबाट ऋण लगानी भएको हो। यस्तै कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिसकेको छ।
सञ्चय कोषले आयोजनासँग ११ प्रतिशत ब्याज लिँदै आएको छ। प्रत्येक तीन महिनामा ब्याज साँवामा पुँजीकरण हुँदै आएको कम्पनीले जनाएको छ।
आयोजना सन् २०१४ देखि निर्माण सुरु भएको थियोे। एक दशक बितिसक्दा पनि रसुवागढी आयोजनाको काम सकिएको छैन। आयोजनाको ४ हजार १ सय ८५ मिटर सुरुङ २०७६ भदौ ४ बाट तयार भइसकेको छ। आयोजना निर्माण तीन लटमा भएको छ।
पहिलो सुरुङलगायत हाइड्रोमेकानिकल संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पाेरेसन (सिडब्लुई) रहेको छ।
दोस्रो लटमा इलेक्ट्रोमेकानिकल उपकरणको काम भारतको भ्वाइथ हाइड्रो र प्रसारण लाइनको काम नेपाली कम्पनी मुडभरी एन्ड जोशीले गर्दै आएकोमा उसले नसकेपछि ठेक्का तोडिएको कम्पनीले जनाएको छ। ठेक्का तोडिएपछि कम्पनीले पुनः बोलपत्र आह्वान गर्दा रोयल कन्स्ट्रक्सन कम्पनीले बाँकी काम सक्ने जिम्मा पाएको छ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ छ। रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ।
आयोजनामा विद्युत प्राधिकरणको १८, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३२.७९, सर्वसाधारणको १९.५, रसुवाका स्थानीय बासिन्दाको १५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीलाई १० प्रतिशत स्वामित्व छुट्टयाइएको छ।
नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान हुनेछन्। आयोजना नेपाल–चीन सीमा नजिक गोसाइँकुण्ड गाउँपालिकामा पर्छ।