काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सबै बैंक कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। सिआइबीले नेपाल राष्ट्र बैंकसँग समन्यव गर्दै कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको हो।
बैंकका कर्मचारी स्वयं सहकर्मी तथा उच्च व्यवस्थापकको शैक्षिक प्रमाणपत्र नक्कली भएकाले छानबिन माग गर्दै उजुरी दर्ता गराउन आउने क्रम बढेको छ। उजुरी बढेपछि राष्ट्र बैंकसँग समन्यव गर्न लागिएको सिआइबीका एक अधिकारीले क्यापिटल नेपाललाई बताए।
‘सिटिजन्स बैंकमा कार्यरत ६ कर्मचारीको छानबिनका क्रममा नक्कली शैक्षिक प्रमाणपत्र भेटिएपछि अन्य बैंकका कर्मचारीको पनि छानबिन माग गर्दै उजुरी आइरहेका छन्,’ सिआइबी स्रोतले भन्यो, ‘अहिलेसम्म दर्ता भएका उजुरीमा छानबिन हुँदैछ। अब यस्तो उजुरी राष्ट्र बैंकमा दिएर त्यहीमार्फत अघि बढाउने विषयमा पत्राचार गर्न लागिएको हो।’
बैंक तथा वित्तीय संस्थाका कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिनमात्रै नभइ अन्य उजुरीसमेत संस्थागतरूपमा राष्ट्र बैंकमार्फत ल्याउन पहल गर्न लागिएको स्रोतको भनाइ छ।
‘अहिलेसम्म व्यक्तिगतरूपमा बैंक वा कर्मचारी आइरहेका छन्, छानबिन नै गराउने भए इच्छुकलाई राष्ट्र बैंकमार्फत पठाउन भन्न लागेका हौं, अब बैंकका कर्मचारीका शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्नुपर्दा राष्ट्र बैंकसँग समन्यव गरेर नै हुन्छ,’ स्रोतले भन्यो।
गत साउन २९ मा काठमाडौं प्रहरी परिसर टेकुले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई नक्कली प्रमाणपत्रका आधारमा जागिरे भएको भन्दै प्रक्राउ गरेको थियो। बैंकका १० कर्मचारीका शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै त्यसमाथि छानबिन माग गर्दै उजुरी परेको थियो।
उजुरीको आधारमा छानबिन गर्दा ७ जनाको शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रहरी परिसर टेकुले पुष्टि गरिसकेको छ। पहिलो चरणमा ६ जना र दोस्रो चरणमा १ जना गरी प्रहरीले सिटिजन्स बैंकको ७ जना कर्मचारीलाई नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा प्रक्राउ गरिसकेको छ।
उच्च व्यवस्थापनका कर्मचारी, सञ्चालकका साथै सहकर्मीको नक्कली शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै सिआइबीमा बैंकिङ क्षेत्रबाट धेरै उजुरी दर्ता भइरहेका छन्। जसमध्ये गत सातामात्रै आएको उजुरीमा दुई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को शैक्षिक प्रमाणपत्र नै नक्कली भएको भन्दै उजुरी दर्ता भएको स्रोतले जानकारी दियो।
सम्बन्धित बैंककै कर्मचारीले दिएको उजुरीमा आफ्ना सिइओले भारतका शैक्षिक संस्थाबाट लिएको शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिइएको र त्यस्ता शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी दर्ता गराउने कर्मचारीले सिआइबीलाई जानकारी गराएका छन्।