काठमाडौं। अधिकांश वाणिज्य बैंकले भदौ महिनामा लागू हुने ब्याजदर बढाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले निक्षेपको अधिकतम ब्याजदर ०.०१ प्रतिशतदेखि १.९० प्रतिशतसम वृद्धि गरेका हुन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त संस्थाले पछिल्लो महिनामा लागू हुने निक्षेपको ब्याजदर अघिल्लो महिनाको मसान्तमै सार्वजनिक गर्नुपर्ने प्रावधान गरेको छ। यस्तो ब्याजदर बैंकहरूले अघिल्लो महिनाभन्दा औसतमा १० प्रतिशतमात्रै थप/घट गर्न पाउँछन्।
अघिल्लो महिनासम्म राष्ट्र बैंक नियामकीय प्रावधानमा रहेर भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका वाणिज्य बैंकहरूले साउनदेखि यस्तो सहमति तोडेका थिए।
असारमा अधिकतम ९.९९ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याज दिएका बैंकहरूले साउनमा ८.९५ प्रतिशतदेखि १०.९३ प्रतिशतसम्म कायम गरेका थिए। यस्तो ब्याजदर भदौमा भने २.१६ प्रतिशतसम्म वृद्धि भएको छ। भदौमा वाणिज्य बैंकहरूले ८.९२ प्रतिशतदेखि ११.१५ प्रतिशतसम्म कायम गर्न लागेका छन्।
भदौमा निक्षेपको ब्याजदर १० बैंकले बढाएका छन्, भने ४ वटा तटस्थ र ६ वटाले घटाएका छन्।
बैंकहरूले सार्वजनिक गरेको भदौमा लागू हुने ब्याजदरअनुसार एक महिना अवधिमा १० वटाले बढाउँदा ६ वटाले ०.०३ प्रतिशतदेखि ०.९४ प्रतिशतसम्म घटाएका हुन्। साउनमा दिएको ब्याजमा एनएमबी बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र प्राइम बैंकले घटाएका हुन्।
निक्षेपमा अधिकतम ब्याज दिने बैंक
सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये निक्षेपकर्ताले भदौमा सबैभन्दा बढी सानिमा बैंक र सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ब्याज पाउँछन्। मुद्दती निक्षेपमा सानिमाले अधिकतम १०.९० प्रतिशत दिँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ८.९२ प्रतिशतमात्रै दिनेछ।
यस्तै, भदौमा सानिमासहित १२ वाणिज्य बैंकको मुद्दतीमा १० प्रतिशतमाथि १०.८९ प्रतिशतसम्म, १० को ९ प्रतिशतसम्म र १ को ९ प्रतिशतभन्दा कम छ।