काठमाडौं। नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई अझै ‘मर्ज’ मा लैजाने रणनीति लिएको छ। प्राधिकरणले नयाँ कम्पनी आउन बाटो रोकेर भएकालाई पनि थप घटाउने योजना बनाएको हो।
प्राधिकरणले भटाभट इजाजतपत्र (लाइसेन्स) बाँडेपछि जीवन तथा निर्जीवन बिमा कम्पनी संख्या बढेर ३९ पुगेको थियो। प्राधिकरणले मर्ज नीति लिएपछि अहिले उक्त संख्या घटेर २८ मा सीमित भएको छ।
कम्पनी संख्या आधाजस्तो नै घटेपछि नागरिकसम्मको पहुँच कम हुने शंकाबीच प्राधिकरण अन्य कम्पनी थप नगर्ने रणनीतिमा छ। बरु, भएका कम्पनीलाई मर्जमा लगेर यो संख्या पनि कम गर्ने योजना उसको छ।
व्यवसाय विस्तारअनुसार चुक्ता पुँजीको अवस्था कमजोर देखेर एक वर्षअघि प्राधिकरणले संख्या घटाउने नीति लिएको थियो। उक्त समय प्राधिकरणले १ सय ५० प्रतिशतसम्म चुक्ता पुँजी वृद्धि गरी तोकिएको समयमा पुर्याउन ताकेता गर्याे। पुँजी वृद्धिमा प्राधिकरणले हकप्रदको बाटो रोकेर मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेको हो।
प्रोत्साहित मर्जर नीतिमा २१ कम्पनी सहभागी भई नौ भए भने कूल ३९ बिमा कम्पनी घटेर २८ मा सीमित भएका छन्। केही कम्पनीको अझै न्यूनतम पुँजी पुगेको छैन्।
पुँजी पुर्याउन होस् वा व्यवसाय बढाउन, प्राधिकरणले थप मर्जर नीति लिने अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन्। उनले नयाँ कम्पनी आउने बाटो रोकेर नै भएका कम्पनी पनि घटाउने योजना बनाएको बताए।
‘अधिकांश कम्पनीले तोकिएको पुँजी पुर्याउन अझै सकेका छैनन्। तीन कम्पनी मर्ज गराएर एउटा बनाउँदा पनि तोकिएको पुँजी कायम गर्न नसक्नुले बिमा कम्पनीको वित्तीय अवस्था कस्तो छ भन्ने सजिलै बुझ्न सकिन्छ,’ अध्यक्ष सिलवालले क्यापिटल नेपालसँग भने, ‘संख्या घट्यो, नयाँ कम्पनीको आवश्यकता होला भन्ने कुरा आउन थालेको छ, तर मेरो कार्यकाल अवधिमा भने कम्पनी थप होइन, भएको नै घट्छन्।’
बिमा कम्पनीको पुँजीको अवस्था निकै कमजोर रहेकाले सञ्चालनमा रहेकालाई बलियो बनाउँदै लैजानु अहिलेको आवश्यकता हो। उक्त आवश्यकतालाई मर्जर तथा प्राप्तिमार्फत पूरा गर्ने योजना बनाइएको उनको भनाइ छ।
उनले तोकिएको पुँजी पु¥याउन अनेक प्रयास गर्दा पनि केहीको नसकेको उल्लेख गर्दै संख्यामा बढीभन्दा पनि पुँजी र गुणात्मकतामा कम्पनी बलियो बनाउन आवश्यक रहेको बताए। ‘मेरो कार्यकालभरि संख्या थप हुँदैन,’ उनले भने।
मर्जमा नगएका र तोकिएको पुँजी पनि कायम गर्न नसकेका कम्पनी अझै मर्जरमा जाँदा उपयुक्त हुने उनको भनाइ छ। सिलवालले आफ्नो कार्यकालभरि बिमा कम्पनी थप नगर्ने तर त्यसपछि के हुन्छ भन्ने विषय भने आफ्नो हातमा नरहेको स्पष्ट पारे।
‘कम्पनीको संख्या बढी हुँदा नागरिकको पहुँच बढी हुने र कम हुँदा कम हुने भन्ने कुरा मेल खाँदैन। अहिले भएकैलाई मर्जरमा लगेर संख्या घटाउनुपर्छ भन्ने मान्यतामा म छु,’ सिलवालले भने।
कम्तीमा दुई वा दुईभन्दा बढी कम्पनी मर्जरमा जाँदा एकअर्काको सिकाइ, दुवैको जनशक्ति र पूर्वाधार अवस्था पनि राम्रो हुने भएकाले प्राधिकरणले बिमा कम्पनीलाई मर्जरमा जाने वातावरण बनाएको हो। मर्जरमा गएपछि बिमा कम्पनीहरू वित्तीय तथा अन्य सम्पूर्ण पक्षले सबल हुने भएकाले वित्तीय अवस्था कमजोर रहेका कम्पनी मर्जरमा जानुको विकल्प नभएको सिलवाल बताउँछन्।
अरूको जोखिम बहन गर्ने कम्पनी आफैं जोखिममा रहँदा अरूलाई सुरक्षा प्रदान गर्न नसक्ने भएकाले नै वित्तीय तथा अन्य सम्पूर्णरूपमा अझै बलियो हुन आवश्यक भएको सिलवालको भनाइ छ।
प्राधिकरणले २०७८ चैत १० गते जीवन बिमाको २ अर्ब र निर्जीवन बिमाको १ अर्ब रहेको चुक्ता पुँजीलाई १ सय ५० प्रतिशतले वृद्धि गरेर एक वर्षभित्र ५ अर्ब र साढे २ अर्ब रुपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको थियो।
तर, तोकिएको पुँजी वृद्धि गर्न नसकेपछि बिमा कम्पनीहरू मर्जरमा गएका थिए। पुँजी वृद्धि नीतिअघि २० निर्जीवन र १९ जीवन गरी ३९ कम्पनी रहेकामा अहिले १४÷१४ गरी २८ मा झरेका छन्।
कम्पनीहरूले पुँजी वृद्धि गर्न नसकेपछि प्राधिकरणले मर्जरको बाटो रोज्ने विकल्प दिएको थियो। यसबाट बिमा कम्पनीहरूको अस्वस्थ प्रतिस्पर्धा पनि कम हुने प्राधिकरणको अपेक्षा थियो।
मर्जरमा गएका बिमा कम्पनी
प्राधिकरणले चुक्ता पुँजी वृद्धिको निर्णय गरेपछि निर्जीवनतर्फ १२ कम्पनी मर्जमा गएर ६ कायम भएका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्ज भएर हिमालयन एभरेस्ट इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स (नेपाल) मर्ज भएर सानिमा जिआइसी, प्रिमियम इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स मिलेर सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मिलेर सगरमाथा लुम्बिनी इन्स्योरेन्स, युनाइटेड र अजोड मिलेर युनाइटेड अजोड तथा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मिलेर आइजिआई प्रुडेन्सियल बनेका हुन्।
त्यस्तै जीवन बिमातर्फ नौ कम्पनी मर्ज भएर चार कायम भएका छन्। सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मिलेर सूर्यज्योति लाइफ इन्स्योरेन्स, रिलाइन्स लाइफ र सानिमा लाइफ मिलेर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर प्रभु महालक्ष्मी लाइफ तथा प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मिलेर हिमालयन लाइफ इन्स्योरेन्स बनेका हुन्।
तर, मर्जमा गएर पनि अहिलेसम्म ६ बिमा कम्पनीले मात्रै तोकिएको पुँजी कायम गरेका छन्। तोकिएको पुँजी कायम गर्नेमा जीवन बिमातर्फ नेपाल लाइफ, नेसनल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स छन्। त्यस्तै निर्जीवन बिमातर्फ शिखर इन्स्योरेन्स, सगरमाथा, आइजिआई, प्रुडेन्सियल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छन्।
प्राधिकरणका अनुसार अब जीवनतर्फका १० र निर्जीवनतर्फका ८ गरी १८ बिमा कम्पनीले तोकिएको पुँजी पुर्याउन बाँकी छ। जसमध्ये नेपाल इन्स्योरेन्सले आफ्नो सम्पत्ति बिक्री गरेर पुँजी पुर्याउने योजना पेस गरेको छ भने प्रभु इन्स्योरेन्सले विदेशी साझेदार भित्र्याएर पुँजी पुर्याउने जनाएको छ।
तर, यी कम्पनीले यसरी पनि पुँजी वृद्धि गर्न नसकेको अवस्थामा मर्जरमा जान सक्ने सल्लाह प्राधिकरणले दिँदै आएको छ। तोकिएको पुँजी नपुर्याएका अन्य सबै कम्पनी भने पुँजी पुर्याउने प्रक्रियामा रहेकाले त्यसमा समस्या नहुने प्राधिकरणले जानकारी दिएको छ। १४ जीवन कम्पनी, १४ निर्जीवन बिमा कम्पनी, चार लघुबिमा र दुई पुनर्बिमा कम्पनी गरी ३४ कम्पनी सञ्चालनमा छन्।