काठमाडौं। पोखराबाट उदाएर नेपालको पर्यटनको ‘गोल्डन ट्रयांगल’ मानिने काठमाडौं पोखरा र चितवनमा प्रिमियम प्रपर्टी सञ्चालनमा ल्याउन सफल बाराही हस्पिटालिटीले पोखरा लेकसाइडमा निर्माण सुरु गरेको पाँचतारे होटल बाराही सेदी को ४६ प्रतिशत निर्माण भएको छ।
६ अर्ब लागत अनुमान गरिएको होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको छ। बाँकी ४९ प्रतिशतमध्ये १० प्रतिशत आइपिओमा जाने योजना छ भने ३९ प्रतिशत प्रमोटर सेयर संकलन भइरहेको हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए।
बाराही सेदी लिमिटेडले गत मंसिरदेखि न्युनतम १० लाख रुपैयाँबाट प्रमोटर सेयर लिन सुरु गरेको हो। हालसम्म करिब २ सय जनाले कम्पनीको २३ प्रतिशत प्रोमोटर सेयर लिइसकेका छन् भने बाँकी १६ प्रतिशतका लागि लगानी गर्न खुल्ला रहेको उनले बताए।
क्यासिनोसमेत रहने होटलमा १२ सय क्षमताको सभाहल निर्माण हुँदैछ। उक्त हल निर्माणपछि नेपालकै ठूलो सभाहल बन्ने थापाले बताउँछन्।
सन् २०२६ बाट सञ्चालनमा ल्याउने योजना रहेको यस लक्जरी रिसोर्टमा हुने सभाहल नेपालकै सबैभन्दा ठूलो बन्ने बताइएको छ। होटल ६३ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा १ सय ४० लक्जरी रुम, १० प्रेसिडेन्सियल स्वीट रुम, ११ सर्भिस अपार्टमेन्ट रहनेछ।
कम्पनीले वातावणीय प्रभाव मूल्यांकन (इआइए) तथा नक्सा पासलगायतका प्रक्रिया पूरा गरी होटल निर्माण कार्य गरिरहेको थापाले जानकारी दिए।
‘सबै प्रक्रिया पूरा गरि हामी काम गरिरहेका छौं,’ थापाले भने। पोखरामा विगतमा लक्जरी होटलको अभाव रहेको थियो। सरकारले सन् २०१४ मा आयोजना गर्ने भनेको सार्क समिट सेवा सुविधा अभावमा आयोजना हुन सकेको थिएन। तर, बाराही सेदी सञ्चालनमा आएपछि भने यस्तो समस्या नहुने हाम्रो विश्वास छ।’
४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराका साथै चितवन र काठमाडौंमा समेत होटल सञ्चालन गर्दै आएको छ।
पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेल र बसन्ती पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरु गरेका थिए। सोही होटलमा पछि सुविधा थप गरी सन् १९९१ मा होटल बाराही नामकरण गरिएको हो।
पौडेलका छोराहरू विप्लव र वैभवसँगै दुई दशकभन्दा लामो समयदेखि योगेन्द्र थापासहितको टिमले बाराही ग्रुप अगाडि बढाउँदै आएका छन्। छोरा विप्लवको उच्च भिजनसहितको नेतृत्वले बाराही हस्पिटालिटी अहिले अगाडि बढिरहेको छ।
हस्पिटालिटीअन्तर्गत चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आभास पोखरा र बाराही काठमाडौं सञ्चालनमा छन्।
यस्तै, ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लजसमेत सञ्चालन गरिरहेको छ।
बाराही ग्रुपका होटलमा मनसुन अफर
बाराही ग्रुपले सञ्चालित होटलमा मनसुन अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत चितवन मेघौलीमा रहेको बाराही जंगल लजमा दुई रात तीन दिनको ३३ हजार रुपैयाँको प्याकेज २३ हजार ५ सय रुपैयाँमा बिक्री गरिन लागेको छ।
चितवन राष्ट्रिय निकुञ्ज नजिकै २ सय ३० रोपनीमा फैलिएको लग्जरी रिसोर्टमा ३९ कटेज रुम र प्राइभेट स्विमिङ पुलसहित स्विट भिल्ला छन्।
यस्तै, कम्पनीले पोखरा लेकसाइडमा रहेको होटल बाराहीमा जोडीका लागि दुई रात तीन दिनको प्याकेज जोडीलाई १९ हजार ९ सय ९९ रुपैयाँमा बिक्री गर्ने योजना बनाएको छ।
यस्तै, ग्रुपले सञ्चालनमा ल्याएको सराङकोट माउन्टेन लजमा दुई जनालाई एक रातको १४ हजारमा लक्जरेव रुम बिक्री गर्ने योजना बनाएको छ।
पोखरा लेकसाइडको ९ नम्बर मार्गमा रहेको आवास पोखरामा जोडीका लागि एक रात डिलक्स रुम, ब्रेकफास्ट, रोमान्टिक क्याण्डिल लाइट डिनर र कपल्स केकको शुल्क ६ हजार रुपैयाँ छ। रुफटप स्विमिङ पुल भएको आवास पोखरा थ्रिस्टार स्ट्यान्डर्ड होटल हो।
कान्तिपथ केशरमहलमा भर्खरै सञ्चालन आएको होटल बाराही काठमाडौंमा ल्याबिस ब्रञ्च, अराउन्ड अफ ड्रिंक्ससहित स्विमिङ पुल प्रयोग गर्ने प्याकेज शनिबारका लागि उपलब्ध गराएको छ।
प्याकेजअनुसार वयस्कका लागि २ हजार ३ सय ९९ रुपैयाँ र हरेक बालबालिकालाई प्रतिव्यक्ति १ हजार १ सय ९९ रुपैयाँ शुल्क कायम गरिएको छ। यो प्याकेज उपभोग गर्न प्रि बुकिङ गर्नुपर्ने छ। सबै होटलका मनसुन अफर सेप्टेम्बर १५ सम्म लागू हुनेछ।
यसबाहेक काठमाडौंको केशरमहल अगाडि रहेको ग्रुपको नयाँ होटल बाराही काठमाडौंमा २०२३ सम्म प्रतिजोडीका लागि सञ्चालन अफरस्वरूप ८ हजार रुपैयाँ शुल्कमा रुम र ब्रेकफास्ट कायम गरिएको छ।