काठमाडौं। नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी-व्यवसायीलाई नआत्तिन ढाडस दिएका छन्। सरकारको पछिल्लो कदमले धेरै उद्योगी-व्यवसायी हतोत्साही भइरहेको बताउँदै यस्तो अवस्थामा साथ दिन एमाले सदैव तयार रहेको बताए।
सांसद सुनिल शर्मा र क्याप्टेन रामेश्वर थापाको उदाहरण दिँदै पछिल्लो समय सरकारले छानिछानी उद्योगी-व्यवसायीलाई दु:ख दिइरहेको बताए। पक्राउ पुर्जीबिनै शर्मालाई पक्राउ गरेर दु:ख दिएको र अन्य व्यवसायीलाई पनि छानिछानी दु:ख दिइरहेको बताउँदै यस्तै अवस्था रहे एमाले चुप नलाग्ने बताए।
एमालेनिकट उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र कठोर अवस्थामा पुगेका बेला सरकार सुन तस्करको संरक्षणमा लागेको आरोप लगाए।
सुनतस्कर बचाउनकै लागि उच्चस्तरीय आयोग बनाउन सरकार नमानेको उल्लेख गर्दै सोझासिधा उद्योगी-व्यवसायी भने उल्टै दु:ख दिइरहेको उनले बताए।
आर्थिक मन्दी छाउनुमा अहिलेसम्म युक्रेन युद्धलाई दोष देखाएर सरकार उम्किरहेको बताउँदै वास्तविकतामा भने सरकारको व्यवस्थापन नै कमजोर भएको उनको भनाइ छ। उद्योगी-व्यवसायीका समस्या समधान गर्न सरकारसँग तत्कालै छलफल गर्ने र संसदमा समेत आवाज उठाउनेसमेत प्रतिबद्धता अध्यक्ष ओलीले व्यवसायीमाझ गरेका छन्।
उद्योग विभागका प्रमुख एवं पूर्वउद्योग राज्यमन्त्री मोतिलाल दुगडले समृद्ध बालुवाटार दु:खी नेपाली भएको बताए। एमालेले समृद्ध नेपाल, सुखी नेपालीको अभियान ल्याएकोमा अहिलेको सरकारले उल्टो काम गरिरहेको बताए।
सरकारको कामकारबाहीका कारण उद्योगी-व्यवसायीले धेरै दु:ख पाइरहेको भन्दै यस्तो बेलामा एमालेले विशेष भूमिका निर्वाह गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए।