काठमाडौं। नेपाल बिमा प्राधिकरणले ६ वटा बिमा कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिने निर्णय गरेको छ। प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले मर्जर भएर पनि तोकिएको न्यूनतम् पुँजी पुर्याउन नसकेका ६ कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय गरेको हो।
प्राधिकरणले जीवन बिमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बिमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम् पुँजी तोकेको छ। तोकिएको न्यूनतम् पुँजी पुर्याउन २१ कम्पनी मर्जर तथा प्राप्तिमा सहभागी भई १० वटामा सीमित भएका छन्। कूल ३९ बिमा कम्पनी घटेर २८ मा सीमित भएका छन्।
मर्जर भएर पनि न्यूनतम् पुँजी नपुग्ने ६ वटा बिमा कम्पनी छन्। यी कम्पनीहरुलाई पहिलो चरणमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन लागिएको प्राधिकरण अध्यक्ष सुर्यप्रसाद सिलवालले क्यापिटल नेपाललाई बताए।
‘मर्जर भएर पनि तोकेको न्यूनतम् पुँजी नपुगेका कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय सञ्चालक समितिले गरेको छ,’ प्राधिकरणका अध्यक्ष सिलवालले भने, ‘पुँजी थप गर्न कम्पनीहरुले माग गरेको हकप्रद स्वीकृतिको प्रक्रिया अब अघि बढ्छ।’ प्राधिकरण व्यवस्थापनले बिमा कम्पनीहरुको हकप्रद सेयर निष्कासन प्रस्ताव कारवाहीका लागि अघि बढाउने छ।
आवश्यक्ताअनुसार व्यवस्थापनले औंल्याएको हकप्रद प्राधिकरण सञ्चालक समितिले स्वीकृत गर्ने छ। त्यसपछि प्राधिकरणबाट भएको स्वीकृत फाइल लिएर कम्पनीहरु हकप्रद सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड जाने छन्।
पहिलो चरणमा प्राधिकरणले मर्ज भएर पनि तोकेको पुँजी नपुगेका ३ वटा जीवन बिमा र ३ वटा निर्जीवन बिमा कम्पनीलाई न्यूनतम १० प्रतिशतदेखि २५ प्रतिशतसम्म हकप्रद दिन लागेको हो। दोस्रो चरणमा तोकेको पुँजी पुर्याउन मर्जर तथा प्राप्ति बाहेक अन्य बाटो रोज्ने कम्पनीलाई आवश्यक हकप्रद निष्काशनको अनुमति दिइने प्राधिकरण अध्यक्ष सिलवालले बताए।
प्राधिकरणले २०७८ चैत १० गते एक वर्षको समयसीमा तोकेर १ सय ५० प्रतिशतसम्म पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो। उक्त समयसीमालाईसमेत ३ महिना थप गरेको थियो। तर, समयसीमा कटेको एक महिना बित्दा पनि अधिकांश कम्पनीहरुले तोकिएको पुँजी कायम गर्न सकेका छैनन्।
प्राधिकरण सञ्चालक समितिको बैठकले सूर्यज्योती लाइफ, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड र सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडलाई हकप्रद सेयर निकाल्न दिने निर्णय गरेको अध्यक्ष सिलवालले जानकारी दिए।
प्राधिकरणका अनुसार सूर्यज्योतीलाई १०, सानिमा रिलायन्सलाई १९.५०, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई २१.९५, हिमालयन एभरेष्टलाई ११.६१, युनाइटेड अजोडलाई २३.२६ र सानिमा जिआइसी इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रदको आवश्यकता पर्छ। यी कम्पनीहरुले प्रस्ताव गरेको हकप्रद पनि सोही नम्बरमा नै हो।
यी कम्पनीहरुले गत आर्थिक वर्षमा आर्जन गरेको नाफामध्ये ५० प्रतिशत पुँजीकरण गर्न दिने विकल्पसमेत प्राधिकरणले राखेको छ। तर, मर्जरको प्रक्रिया सम्पन्न गरिसकेको हुँदा यी कम्पनीलाई नाफा पुँजीकरण गर्नुपर्ने बाध्यता भने छैन। त्यसैले आवश्यकताअनुसार यी कम्पनीहरुले उल्लेखित नम्बरमै हकप्रद पाउने प्रष्ट छ।