काठमाडौं। अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा बढाइएसँगै ट्याक्सी लगायत प्रदेशभित्र चल्ने अन्य सार्वजनिक सवारी साधनको पनि भाडा बढाइने भएको छ।
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको थियो।
विभागले यात्रुवाहक सवारीसाधनमा ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ६.८३ प्रतिशत भाडा वृद्धि गरेको हो।
योसँगै प्रदेशभित्र चल्ने ट्याक्सीलगायत सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गर्न लागिएको छ।
भाडा समायोजनका लागि भोली बिहीबार बैठक बोलाइएको छ। यो विषयमा आउँदो सोमबारसम्म ठोस निणर्य आउने श्रम, रोजगार तथा यातायात मन्त्रालयका सुचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए।
‘हामीले बैठक बोलाइसकेका छौं। सोमबारसम्म केही ठोस निणर्य आउला,’ उनले क्यापिटल नेपालसगँ भने।
ट्याक्सीलगायत प्रदेशभित्र चल्ने सवारी साधनको हकमा स्वचालित भाडा प्रणाली नहुँदा यातायात व्यवसायी र यात्रु दुवैलाई समस्या परेको बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दिपक नेपालले बताए।
‘हामीले धेरै अघिदेखि स्वचालित भाडा प्रणाली बनाउनु पर्छ भनेर माग गर्दै आइरहेका छौं। सम्बन्धित निकायमा बारम्बार कुरा पनि राखेका छौं। सबैले माग जायज हो भन्नु हुन्छ तर मागको सम्बोधन कहिल्यै हुदैन,’ उनले भने।
ट्याक्सीका लागि डिजिटल मिटर राख्ने व्यवस्था मिलाउनु पर्ने नेपालको माग छ।
‘ट्याक्सीलाई स्वचालित भाडा प्रणालीमा लैजान पहिले हाम्रो मिटरलाई डिजिटलाइज बनाउनु पर्छ। त्यसपछि इन्धनको भाउ घट्दा वा बढ्दा नियामक निकायले एक क्लिकको भरमा सबै ट्याक्सीमा नयाँ भाडा दर दाखिला गर्न सक्छ,’ नेपालले भने।
मिटरलाई डिजिटलाइज नगरे स्वचालित भाडादर कायम गरे पनि सबै ट्याक्सीमा नयाँ भाडादर अपडेट गर्न महिनौं लाग्ने उनले बताए।
इन्धनको भाउ बढेपछि स्वचालित रुपमा भाडा बढ्नु राम्रो कुरा भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका अध्यक्ष विजयबहादुर स्वाँरले बताए।
‘यो स्वचालित भाडा प्रणाली हो। भाडा बढे वा घटे हामीलाई केही भन्नु छैन। अन्तर प्रदेश सवारी साधनको भाडा स्वचालित गरे झै काठमाडौं, पोखराका ट्याक्सीरूको भाडा पनि स्वचालित भए कुनै समस्या नै आउदैन,’ उनले भने।
विभागले सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले भएमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालितरुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाउने गरेको छ।
२०८० साउन १ को डिजेलको औसत बजार मूल्य १ सय ४४ रुपैयाँ ८३ पैसामा मिति २०८० साउन ३१ सम्ममा २१ रुपैयाँ वृद्धि भई औसत बजार मूल्य प्रति लिटर १ सय ६५ रुपैयाँ ८३ पैसा कायम भएको थियो।
सो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा १४.५० प्रतिशत बढी भएकाले साउन ३१ देखिनै लागु हुनेगरी अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरिएको विभागले जनाएको छ।
विभागले समायोजन गरेको भाडा दर अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक सवारी साधनमा लागु भए पनि ट्याक्सीको हकमा भने प्रदेश यातायात मन्त्रालयले सिफारिस गरेर मूख्यमन्त्री कार्यालयले स्वीकृती दिएर राजपत्रमा प्रकाशित भएपछि मात्र लागु हुनेछ।