काठमाडौं। डिजाइनअनुसार फिल्डमा काम गर्न समस्या भएको भन्दै डेढ महिनादेखि नेपालकै पहिलो ग्वार्को फ्लाई ओभर निर्माण रोकिएको छ। निर्माण कम्पनीले बनाएको फ्लाई ओभर डिजाइन २०७९ माघमा सडक विभागको सहकार्यमा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले स्वीकृत गरेको थियो।
उक्त डिजाइनअनुसार फिल्डमा काम गर्न मेसिन नपाएपछि डिजाइन परिवर्तन गर्न निर्माण कम्पनीले विकास केन्द्रलाई असारमा जानकारी गराएको थियो। आरसी, समानान्तर र रेलिग्रेसँग संयुक्त उपक्रम (जेभी) मा केन्द्रले ठेक्का सम्झौता गरेको छ। फ्लाई ओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो।
डिजाइन परिवर्तन जमिन मुनिको भागमा हुने र त्यसले लागत रकममा कुनै फरक नपर्ने निर्माण कम्पनीले जनाएको छ। ‘इन्जिनियरिङ प्रोक्योमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा फ्लाई ओभर निर्माण गर्ने सम्झौता भएको छ। इपिसी मोडेलमा सम्झौता भएपछि फ्लाई ओभरको डिजाइन, निर्माण र निर्माणपछिको पाँच वर्षसम्म मर्मत पनि निर्माण कम्पनीले नै गर्नुपर्छ।
विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राकेश महर्जन अहिले भइरहेको डिजाइन परिवर्तनलाई गल्ती भएको भन्न नमिल्ले बताउँछन्। ‘डिजाइनमा त्रुटि भन्न मिल्दैन, डिजाइन गरिएअनुसार इक्विपमेन्टहरू नेपाल र भारतमा नपाएपछि निर्माण गर्न समस्या भएर परिवर्तन गर्न लागिएको हो,’ उनले भने।
डिजाइन परिवर्तन गर्न डेढ महिना पहिला आग्रह गरे पनि गुणस्तर अनुसन्धान केन्द्रले हालसम्म परिवर्तन गरेको डिजाइन स्वीकृत नगरेको समानान्तर कम्पनीका प्रोजेक्ट म्यानेजर विशाल कार्की बताउँछन्। म्यानेजर कार्कीका अनुसार साउनमै विकास केन्द्रले डिजाइन परिवर्तनको स्वीकृति दिने जनाएको छ।
‘विभागले दुई/तीन चरणमा डिजाइनको अध्ययन गर्नुपर्ने रहेछ,’ क्यापिटल नेपालसँग उनले भने, ‘त्यसैले एक महिना बढी समय लागेको हो, साउनमै स्वीकृति दिने कुरा छ।’
तर, केन्द्रका सिडिई महर्जन डिजाइन अध्ययनको काम भइरहेकाले कहिलेसम्म स्वीकृत हुन्छ भन्न नसकिने बताउँछन्। ‘हामीले डिजाइन हेरेर केही कुरा थपघट गर्न निर्माण कम्पनीलाई भनेका छौं,’ सडिई महर्जनले भने, ‘अध्ययन हुँदैछ, कहिले सकिन्छ अहिले नै म भन्न सक्दिनँ। केन्द्रले एक्लै डिजाइन हेरेको छैन। विभागको पनि सहयोग लिएका छौं।’
के हुँदैछ परिवर्तन ?
यसअघि फ्लाई ओभरको पाइलिङ डायमिटर बढी र नम्बर कम थियो। उक्त डिजाइनअनुसार काम गर्ने मेसिन नभेटिएपछि डिजाइन परिवर्तन गरेर काम गर्न लागिएको हो।
परिवर्तन गर्न लागिएको डिजाइनमा पाइलिङको डायमिटर कम र नम्बर बढी हुनेछ। विकास केन्द्रले डिजाइन दिएसँगै निर्माण कार्य फेरि सुचारु हुन्छ। ‘परिवर्तन गर्न लागिएको डिजाइनअनुसारका निर्माण सामाग्री ल्यइसकेका छौं, डिजाइन प्राप्त भएपछि निर्माणको काम फेरि सुरु हुन्छ’ मेनेजर कार्कीले भने।
निर्माण कम्पनीसँग फ्लाई ओभर निर्माण गर्ने म्याद आगामी फागुन अर्थात् ७ महिनामात्रै बाँकी छ। तर, भौतिकरूपमा उल्लेख्य प्रगति हालसम्म भएको छैन। यद्यपि, निर्माण कम्पनीले भने समयमै काम सम्पन्न गर्ने दाबी गर्दै आएको छ।
फ्लाई ओभरको लम्बाइ करिब ५ सय मिटर र उचाइ ६ मिटर हुने विकास केन्द्रले जनाएको छ। चक्रपथको कोटेश्वर–कलंकीखण्ड विस्तार गरेर आठ लेन बनाइएको छ। जसमध्ये बीचको चार लेनमा फ्लाई ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्नेछन् भने फ्लाई ओभर मुनिबाट मंगलबजार–इमाडोल–मंगलबजार चल्ने सवारीले आवतजावत गर्नेछन्।