काठमाडौं। पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण करहरु तिर्न तयार रहेको अध्यक्ष बुद्धि सुवेदीले जानकारी दिएका छन्। गैरआवासीय नेपाली सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्दै विरोध भईरहेको बेला उनले बुधबार पत्रकार सम्मेलन गरेर कर तिर्न कुनै कसुर बाँकी नराख्ने बताएका हुन्।
टाइगर प्यालेस रिसोर्टका अध्यक्ष सुवेदीले कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्वहरु तिर्नका लागि तयार भएको जानकारी कर कार्यालयलाई दिइसकेको बताए। ‘हामी नेपालमा नाफा कमाउन आएका हैनांै,देशप्रतिको दायित्व पुरा गर्न आएका हौं’अध्यक्ष सुवेदीले भने।
अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सञ्चालन गर्दै आएको थियो। अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैया लगानी गरेको थियो।
कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन। करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो। रिसोर्टले नेपालका बैंकलाई तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन। बैकको दायित्व साढे २ अर्ब रुपैयाँ छ।
‘प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमासमेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि हामी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयरहरु खरिद गरेका हौं’ सञ्चालक दिपक गौतमले भने।
सिल्भर हेरिटेजले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र गैरआवासीय नेपालीहरुले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको उनले जानकारी दिए। सोहीअनुसार टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्टमा हस्तान्तरण हुन आएको उनले बताए।
‘जननी जन्मभूमिस्व स्वर्गादपी गरियसीको मर्मलाई आत्मसात गर्दै अवसरका लागि विदेशीएका हामी नेपालीले आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध गरी बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका हो’ सञ्चालक गौतमले भने।
‘सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन नसकेको अवस्थामा हामीले विदेशमा दुःख गरेर कमाएको रकमलाई मातृभूमिमा लगानी गरी पर्यटन उद्योगमार्फत देश विकासमा टेवा पुर्याउने प्रयत्न गरेका छौं’उनले भने।
पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठुला लगानीका पर्यटन उद्योगहरु धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र पर्यटन क्षेत्र र लगानीकताका लागि सुखद नभएको सञ्चालक गौतमको भनाई छ। ‘नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको भूमिका भएकोले केही गैरआवासीय नेपालीहरुले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा ईंटा थप्न चाहेका छौं’ सञ्चालक गौतमले भने।
बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्न टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको उनको भनाई छ। रिसोर्ट सञ्चालनबाट नाफा कमाउने भन्दा पनि आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध बढी महशुस गरेको गौतमले बताए।
रिसोर्टको लगानीकर्ता अष्ट्रेलियन कम्पनी आफैँ आर्थिकरूपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो। कम्पनीको नेपालमा भएको सबै लगानी नोक्सानीमा गएका कारण टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा पुगेको हो। बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १ करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको सो अवसरमा जानकारी दिइयो।
अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून बमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानुनले दिएको म्यादभित्र बुझाउनेसमेत नयाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन्।