दमौली। तनहुँ आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण गरिएको हो।
तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा यही साउन २६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको हो।
प्रतिरोपनी १ करोड ८४ लाख ९२ हजार ६ सय ८० रुपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए।
सहायक प्रजिअ गैरेका अनुसार उक्त ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिनेछ।
उनका अनुसार जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९ सय ६७ रुपैयाँ रकम आवश्यक पर्नेछ। त्यसमध्ये जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार ६ सय ५२ र घरटहराका लागि ३ करोड ९० लाख ९९ हजार ३ सय १५ रुपैयाँ वितरण गरिनेछ।
प्रशासन कार्यालयले उक्त जग्गा प्राप्ति गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को प्रयोजनार्थ सूचना प्रकाशित गरेको छ।
उक्त सूचनाअनुसार मुआब्जासम्बन्धी प्रकाशित नामावलीमा चित्त नबुझेमा सूचना प्रकाशन भएको (२०८० साउन २७) मितिले १५ दिनभित्र गृह मन्त्रालयमा कार्यालय समयभित्र निवेदन दिन अनुरोध गरिएको छ।
उनानसत्तरी मेगावाट विद्युत उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गर्न लागिएको हो।
मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणलले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए।