काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एसियन अवार्ड ‘फिलान्थ्रोपिस्ट अफ दि इयर २०२३’ प्रदान गरिने भएको छ।
दुबईस्थित ‘म्युजियम अफ दि फ्युचर’ भवनमा अक्टोबर ७ तारिखमा उक्त अवार्डका पूर्वविजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीबीच हुने एक समारोहमा चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ।
एसियन अवार्डबाट व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाज सेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गरिँदै आएको छ।
उक्त अवार्डबाट यसअघि आर्ट अफलिभिङका संस्थापक रविशंकर, सर बेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याक मा, मदर टेरेसा, फ्रेडी मर्करी, ज्याकी च्यानलगायत सम्मानित भइसकेका छन्।
फोर्ब्समा सूचिकृत नेपालका एकमात्र अर्बपति उद्योगी चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी सामाजिक काम गर्दै आएका छन्।
चौधरीले २०७२ सालको भूकम्पपीडितका लागि १० जिल्लामा करिब ३ हजार घर बनाएर हस्तान्तरण गरेका थिए। त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोक गिरान्चौरका भूकम्पपीडितलाई ६१ पक्की घर निर्माण गरेको थियो। भूकम्पका बेलामा गरेको योगदानमाथि फोर्ब्स एसियाले चौधरीको कभर स्टोरी प्रकाशित थियो।
चौधरी फाउन्डेसनले २०१९ मा सुरु भएको कोभिड महामारीपछि प्रभावित सर्वसाधारणको उपचार सहज गर्न वीर अस्पतालमा १८ बेडको आइसियु निर्माण गरी सञ्चालनमा ल्याएको थियो।