काठमाडौं। अटो पारखी तथा व्यवसायीको बहुप्रतीक्षित प्रदर्शनी हो– नाडा अटो शो। अटो शोमा स्टल लिन तँछाडमछाड गर्ने व्यावसायिक घरानादेखि त्यहाँ पुग्न हतार गर्ने पारखीलाई यसपालि केही खल्लो महसुस हुनेछ।
किन होला? किनकि, यसपालि आयोजना हुन लागेको नाडा अटो शोमा केही चर्चित अटो ब्रान्डले सहभागिता नजनाउने संकेत गरेसँगै शो खल्लो हुने भएको हो।
आगामी भदौ २६ देखि ३१ सम्म राजधानीको भृकुटीमण्डप परिसरमा नाडा अटो शो हुने मिति तय छ। शोका लागि ८२ वटा स्टल बुक भइसकेको नाडाले जनाएको छ।
तर, अटो पारखीले पर्खिरहने केही चर्चित ब्रान्ड यसपालि देख्न पाइने छैन। झन्डै चार वर्षपछि यसपालि हुन लागेको शोमा मित्सुबिसी, टोयोटा, प्रोटोन, स्कोडा र होन्डाका चारपांग्रे सवारीसाधन देख्न नपाइने सम्बद्ध स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार यसपालि नाडा अटो शोमा अर्को चर्चित दुईपांग्रे ब्रान्ड यामाहाले पनि सहभागिता नजनाउने पक्का भएको छ।
अहिलेको बजारस्थिति अनुकूल नरहेकाले शोमा सहभागिता नजनाउने निर्णयमा पुगेको एक अटोमोबाइल ब्रान्डका अधिकारीले बताए।
‘यसपालिको शोबाट प्रतिफल आउँछ भनेर कसैले सोचेको छैन। धेरैले आफ्नो उपस्थितिका लागिमात्र सहभागिता जनाउन लागेका छन्,’ उनले भने, ‘बेकारमा नाडाको एउटा स्टलमा ४०/५० लाख खर्च गर्नुभन्दा पाँच ठाउँमा एक्सचेन्ज क्याम्प गर्दा फाइदा हुन्छ।’
नाडा अटो एक्सपो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत कारण आयोजना हुन सकेको थिएन।
नाडा अटो शोमा विद्युतीय सवारीसाधन (इभी) लगायत चार वर्षयता हालसम्मका नयाँ मोडेल अवलोकन गर्न पाइने नाडाले जनाएको छ।
नाडाका अनुसार शोमा विभिन्न ब्रान्ड र मोडेलका सवारी र त्यसमा प्रयोग हुने टायर–ट्युब, लुब्रिकेन्ट्स, स्पेयर पार्ट्स, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणलगायत सामग्रीसहित कूल ८२ स्टल राखिनेछन्।
त्यसैगरी शोमा अटोमोबाइल व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स कम्पनीसमेतको उल्लेख्य सहभागिता रहने नाडाको दाबी छ।
शोमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ।