मुस्ताङ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक १२ दिनपछि सञ्चालन भएको छ।
सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।
आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको जानकारी दिए।
'सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्,' उनले भने, 'मौसममा सुधार आएपछि सडक मर्मत र पहिरो पन्छाउने काम गर्न सकियो।'
बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले डोजरको सहायताले छरिएको पानीको स्रोतलाई एकितृत गरी खोला बगाएर झारिरहेकाे बताए। उनले भने, 'करिब २ सय मिटर लामो पहिरो पानीले बगाउने र खस्न सक्ने ढुङ्गा डोजर लगाएर खसालेका छौँ। अडिन सक्नेलाई चलाएको छैन्। गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा चटृान भेटिएको छ।'
भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको उनले जानकारी दिए। पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरूपमा खोल्साबाट बगाइएको छ।
पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्णरूपमा यातायात बन्द गरिएको थियो। बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो।
बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरोमा परेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए। पहिरोले पुरेको जिप निकालिएको छ। सवारी धनीसमेत रहेका शेरपुञ्जाको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।