काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई प्रशस्त सम्भावना नेपालमा रहेको बताएका छन्।
राष्ट्रिय निर्माण नेपाल मञ्च र उद्यमशील युवा सिर्जनशील युवा अभियाले आयोजना गरेको इन्टरप्रेनरसिप इनोभेसन कन्क्लेभमा अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै समस्या समधान हुन्छ भन्ने सोचाइबाट युवालाई मुक्त गर्नुपर्ने बताए।
‘हाम्रो देशमा धेरै काम गर्न बाँकी छ, युवाहरू जान चाहेको गइरहेको देशमा धेरै काम भइरहेको छ,’ मन्त्री महतले भने, ‘सामन्य ढंगले चलाउछु भन्दा ठिकै छ, यहाँ पनि सकिन्छ तर सूक्ष्म ढंगले सम्भावना खोज्ने हो भने यहाँ धेरै सम्भावना छन्, यसको उपयोग गरौँ।’
उनले सबै आफन्त विदेश गइसके म गइन भने पछि परे भन्ने मानसिकता परिवर्तन गर्न चुनौति रहेको बताए।
अर्थमन्त्री महतले अरूले नगरेको सिर्जनशील काममा लाग्न र लाभ उठाउनसमेत आग्रह गरे।
पूर्वअर्थमन्त्री युवराज खतिवडाले उद्यमशीलता व्यक्तिको विशेष क्षमताभित्र पर्ने बताए।
उद्यमशीलताको वातावरण शिक्षाबाट सुरु हुने भन्दै उनले शिक्षा क्षेत्रमा कमजोरो देखिएको बताए।
‘१२ कक्षाको रिजल्ट आउदा आधा विद्यार्थी माथिल्लो तहमा पढ्न जान अयोग्य भए यस्ता विद्यार्थीलाई सीप विकासमा केन्द्रित गर्नु पर्छ’ उनले भने।
उच्च शिक्षा लिन नसक्ने जनशक्तिलाई केन्द्रित गरेर सीप विकास र वित्तीय स्रोत व्यवस्थापन केन्द्रित कार्यक्रम ल्याउनु पर्ने बताए।
सीप कसरी दिने, जोखिम लिन सक्ने कसरी बनाउने जोखिमको विमा गर्नेलगायत चक्र निर्मनण गर्नुपर्ने बताए।
उनले प्रविधि भित्र्याउने तथा बजार सुनिश्चितता गर्ने विषयमा केन्द्रित हुनुपर्ने बताए।
उद्यमशील युवा सिर्जनशील युवा अभियानका संयोजक भुपेन्द्रजंग शाहीले युवाहरूलाई आर्थिक क्रियाकलापमा जोड्नुपर्ने बताए।
उनले बहुसंख्यक जनसंख्या युवा रहेकै सन्दर्भमा उनीहरूको उपयोग आर्थिक उन्नयनमा गर्नुपर्ने बताए।
‘आर्थिक विकासका लागि युवाहरूलाई उद्यमशीलतामा जोड्न आवश्यक छ,’ उनले भने, ‘यसका लागि पुँजी, सीप, कानुनी सहायतामा राज्यको उपस्थिति आवश्यक पर्छ।’
संयोजक शाहीले यस्ता प्रकारका युवा उद्यमशील प्रेरणा कार्यक्रम देशभरि सञ्चालन गरिने बताए।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले युवालाई केन्द्रित गरेर बैंकले नयाँ नयाँ कार्यक्रम सञ्चालन गरेको बताए।
उनले १० प्रकारका युवा उद्यमशीलतासम्बन्धी कार्यक्रममा बैंकले कर्जा प्रदान गरेको जानकारी गराए।