काठमाडौं। संघीय राजधानीको बौद्धमा सिद्धार्थ बुटिक होटल सञ्चालन गरिरहेको सिद्धार्थ इन्टरनेसनल होटल प्रालिले भैरहवामा नयाँ होटल सञ्चालनमा ल्याउन लागेको छ।
लुम्बिनी प्रदेश भैरहवामा निर्माणाधीन होटल ‘सिद्धार्थ विलासा’ आगामी मंसिरबाट सञ्चालनमा आउन लागेको हो। सिद्धार्थ विलासा सन् २०२३ मेमा ‘सफ्ट ओपनिङ’ भएको थियो। ८५ कोठाको सिद्धार्थ विलासा निर्माण जारी रहेको कम्पनीले जनाएको छ।
बौद्धस्थित सिद्धार्थ बुटिक होटल २०२१ मार्चदेखि भाडा सम्झौताअन्तर्गत चलिरहेको छ। यो बुटिक होटल काठमाडौंको एक महत्वपूर्ण प्रवेश बिन्दुमा छ। सिद्धार्थले १ अर्ब २२ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
दुवै होटल बौद्ध धर्मस्थल वरिपरि भएकाले पर्यटकलाई एक विशिष्ट आकर्षण प्रदान गर्ने कम्पनीको भनाइ छ।
होटल परिसरभित्र क्यासिनोको उपस्थितिले भविष्यमा व्यावसायिक सम्भावना विस्तार गर्ने अपेक्षा छ। क्यासिनोले विशेषगरी भारतीय पर्यटक आकर्षित गर्ने कम्पनीको भनाइ छ।
बौद्धको बुटिक होटल २०२१ मार्चबाट पूर्णसञ्चालनमा आएको थियो। होटलको अकुपेन्सी ३७ प्रतिशत छ। भैरहवामा रहेको विलासामा १७ प्रतिशत अकुपेन्सी छ।
व्यवस्थापन अहिले भैरहवाको विलासालाई पाँचतारे स्तरको होटल बनाउने प्रक्रियामा छ। अक्टोबरमा सम्बन्धित निकायबाट प्रमाणीकरण प्राप्त गर्ने अनुमान छ।
ग्रुपले बौद्ध र भैरहवामा सञ्चालन गरिएका होटलबाट ७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। भैरहवाको विलासामा कोठा, बैंक्वेट हल र रेस्टुरेन्ट सञ्चालनमा छन्।
चिन्तामणि (लक्ष्मण) न्यौपाने सिद्धार्थ इन्टरनेसनलको अध्यक्ष छन्। उनले कम्पनीमा चार सदस्यीय बोर्डको नेतृत्व गरिरहेका छन्। न्यौपाने सिद्धार्थ बिजनेस ग्रुपको प्रबन्ध निर्देशक पनि हुन्। आतिथ्य सत्कार उद्योगमा उनको २५ वर्षभन्दा बढी अनुभव छ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको छातामुनि १४ होटल तथा रिसोर्ट सञ्चालनमा छन्। समूहले विभिन्न स्थानमा नौ रेस्टुरेन्ट र क्याफे व्यवस्थापन गर्दै आएको छ।
काठमाडौं, चितवन, बुटवल, भैरहवा, नेपालगन्ज, सुर्खेत, कैलाली, झापा, विराटनगर, महेन्द्रनगर, कपिलवस्तु र लमहीमा होटल सञ्चालनमा छन्। सिद्धार्थ बिजनेस ग्रुपले १ हजार २ सयलाई रोजगारी दिएको छ।
सिद्धार्थ इन्टरनेसन होटल २०१४ मा स्थापना गरिएको थियो। होटल सिद्धार्थ विलासा ब्रान्डमा सञ्चालन हुनेछ। बौद्धमा सञ्चालन भइरहेको होटलमा ५० कोठा छन्। होटलमा दधिकला बिजनेस ग्रुपको ३६.५०, कृष्णप्रसाद भण्डारीको ५, मुक्तिराम भण्डारी मुख्य लगानीकर्ता हुन्।
काठमाडौं र भैरहवामा नयाँ होटलको बढ्दो संख्याले व्यापार प्रभावित भएको छ। अहिले लगानीकर्ता र सरकार दुवैको ध्यान पर्यटन क्षेत्रको विकासमा छ।